लथालिंग राजधानी

वीरेन्द्रनगरको पहिचान एक स्थानीय तहका रूपमा मात्र सीमित छैन, यो कर्णाली प्रदेशको राजधानी पनि हो । यो प्रदेशको सबैभन्दा सुगम र ठूलो सहर पनि हो । यही सहरबाट प्रदेश सरकार सञ्चालन हुन्छ । सरकारका सबै संरचना वीरेन्द्रनगरमै छन् । यसअर्थमा पनि भौतिक पूर्वाधार विकासलगायत सबै हिसाबले राजधानी अन्य क्षेत्रभन्दा बढी विकसित हुनुपर्ने अपेक्षा गरिन्छ । तर वीरेन्द्रनगरको अवस्था भने उल्टो छ । विगतको क्षेत्रीय सदरमुकाम अहिलेको प्रदेश राजधानीसम्म आइपुग्दा पनि व्यवस्थित र विकसित हुन सकेको छैन । अहिले पनि अव्यवस्थित छ । लथालिङ्ग छ ।

प्रदेशका अन्य स्थानीय तहको विकासको अवस्था हेर्ने आँखीझ्याल पनि हो, वीरेन्द्रनगर । तर विडम्बना के छ भने वीरेन्द्रनगर बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ । सडकमा खाल्डाखुल्डी, फुटपाथ अतिक्रमण तथा अन्य जीर्ण संरचनाका कारण कर्णालीको प्रदेश राजधानी कुरूप बनेको हो । अव्यवस्थित सडक र त्यसको छेउमा रहेका पोलमा विद्युतका तारहरू लथालिङ्ग छन् । फुटपाथ अतिक्रमणको समस्या उस्तै छ । राजधानी व्यवस्थित नहुँदा नागरिकहरूले सास्ती खेप्दै आएका हुन् । केही वर्ष पहिलेसम्म सुन्दर नगरीका रूपमा चिनिने वीरेन्द्रनगर बढ्दो जनघनत्वसँगै अस्तव्यस्त बनेको छ । अतिक्रमण रोक्न नसक्नु तथा जीर्ण संरचनाको मर्मत तथा व्यवस्थापन नहुँदा नगरको सौन्दर्य नै बिग्रिदै गएको छ । मुख्य बजारमा बिजुलीका पोलहरूमा राखिएका तार लथालिङ्ग छन् । नगरका सडकका नाला, ढल निकास र ट्राफिक व्यवस्थापन पनि व्यवस्थित छैन । यसले एकातिर नगरक्षेत्र कुरूप देखिन्छ भने अर्कोतिर सडकमा यात्रा गर्नेहरू असुरक्षित बनेका छन् । फुटपाथमा व्यापार गर्नेहरू बढेका छन् । सडक छेउ च्यापेर गरिने व्यापारले सडक अतिक्रमण त भएको छ नै, सँगसँगै बजारलाई अव्यवस्थित र कुरूप पनि बनाएको छ । नगरपालिकाले भने उनीहरूको उचित व्यवस्थापन गर्न सकेको छैन । मुख्य सडकका चोक नै अव्यवस्थित बन्दा पनि पालिकाले चासो नदिएको हो । नगरको व्यवस्थापनमा कतिसम्म बेवास्ता गरिएको छ भने वीरेन्द्रनगरको प्रवेशद्वार सुुब्बाकुुनादेखि धुलियाबिट मंगलगढी, लाटीकोइली र काँक्रेविहार जाने मुख्य सडकहरू व्यवस्थित छैनन् ।

नगर व्यवस्थित गर्ने जिम्मेवार निकाय नगरपालिका हो । नियामक निकायको बेवास्ताका कारण वीरेन्द्रनगर बजार क्षेत्र अस्तव्यस्तसँगै असुरक्षित बनेको वीरेन्द्रनगरबासीको गुनासो छ । नगरपालिकाले बढ्दो सहरीकरणलाई लक्षित गरेर व्यवस्थित नगर बनाउने ठोस योजना ल्याउन सकेको छैन । सडक च्यापेर गरिने व्यवसायलाई समेत पालिकाले व्यवस्थापन गर्न नसकेको हो । हरेक वर्ष फुटपाथ हटाउने योजना अनुसार केही दिन बजारमा देखिने नगरपालिकाले त्यसलाई निरन्तरता दिएको पाइँदैन । जसले गर्दा फुटपाथ अतिक्रमण तीव्र रूपमा भइरहेको छ । नगरपालिका सँगसँगै प्रदेश सरकारले पनि राजधानीको विकास र सुधारका लागि योजना बनाउन आवश्यक छ । राजधानी विकासको गुरुयोजना बनाएर प्रदेश र नगरपालिकाको समन्वयमा योजना कार्यान्वयन गर्न सकेको खण्डमा मात्रै वीरेन्द्रनगरको विकास हुनसक्दछ ।

प्रकाशित मितिः   ११ आश्विन २०७८, सोमबार ०५:००