सुल्झिएन एमयूको विवाद

पदमुक्त गरिएका उपप्राध्यापकको पुनर्वहाली गर्नुपर्ने मागमा जुटेन सहमति

मध्यपश्चिम विश्वविद्यालय (एमयू) प्रशासन र प्राध्यापकहरूबीचको विवाद समाधान हुन सकेको छैन । दुवै पक्षबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

श्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक संगठनबीच थुप्रै पटक वार्ताको प्रयास भए पनि सहमति जुट्न नसकेको समितिका सदस्य विष्णुकुमार खड्काले जानकारी दिए । ‘उच्चस्तरीय वार्ता समिति र प्राध्यापक संगठनहरूबीच गत बुधवार, बिहीवार वार्ता भएको थियो,’ खड्काले भने, ‘वार्ता सकारात्मक भए पनि उहाँहरू (प्राध्यापक संगठन)ले हामी आन्तरिक छलफल गर्छाैं र टुङ्गोमा पुगौँला भन्नुभयो । त्यसयता दुई पक्षबीच बसाइँ भएको छैन ।’ उनका अनुसार अर्को वार्ता कहिले हुने भन्नेबारे निश्चित छैन । यद्यपि सहमति जुटाउन आफूहरू निरन्तर प्रयासमा रहेको उनले बताए ।

आन्दोलनरत पक्षले सहमतिका लागि आफूहरू आन्तरिक तयारीमै रहेको बताएका छन् । ‘वार्ता भइरहेको छ । मोटामोटी सहमति नजिक पुगेका छौँ,’ नेपाल राष्ट्रिय प्राध्यापक संगठन एमयू समितिका सचिव कमल सिंहले भने, ‘केही विषयमा थप छलफल गर्नुपर्ने भएको छ ।’ उनका अनुसार प्राध्यापक संगठनले विश्वविद्यालयले निष्काशित गरेका उपप्राध्यापक विश्वनाथप्रसाद यादवको पुनर्वहालीको माग राखेको छ । विश्वविद्यायलले भने त्यसमा सहमति गर्न मानिरहेको छैन । यसमै वार्ता अड्किएर निष्कर्षमा पुग्न नसकेको सिंह बताउँछन् । ‘हामीले बरू अन्य साधारण कारबाही गरौँ भनिरहेका छौँ,’ उनले भने, ‘विश्वविद्यालयले पदमुक्त गरिएको कारबाही फिर्ता लिन मानेको छैन ।’ प्राध्यापक संगठनहरू सहमतिबाटै निकास खोज्ने पक्षमा रहेको पनि उनले प्रष्ट्याए । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र आंशिक प्राध्यापक संगठनहरू विभिन्न माग राखि झन्डै तीन महिनायता आन्दोलित छन् ।

लामो समयदेखि भइरहेका आन्दोलनले विश्वविद्यालयको दैनिक प्रशासनिक काम प्रभावित भएको छ । प्राध्यापकहरूको तालाबन्दीका कारण दैनिक कार्यसम्पादनमा बाधा भएको विश्वविद्यायले जनाएको हो । विश्वविद्यालय प्रशासनले केही दिन पहिले विज्ञप्ती जारी गरेर आन्दोलनरत प्राध्यापक संगठनलाई तत्काल वार्तामा आउन भनेको थियो । विश्वविद्यालयले गएको बुधवार साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनीसहितको विज्ञप्ती सार्वजनिक गरेपनि अझैँ समाधान ननिस्किएको हो । त्यसयता दुई दिन छलफलमा बसे पनि वार्ता निष्कर्षमा पुगेको छैन ।

प्राध्यापक संगठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि बजेट निकासा र खर्चको प्रक्रिया एवम् दैनिक प्रशासनिक कार्यसञ्चालनमा बाधा पुगेको जनाइएको छ । आसन्न एघारौं सभा (सिनेट) सम्बन्धी आवश्यक तयारी, तलबभत्ता निकाशा तथा विद्यार्थी संगठनसँग भएका सहमति कार्यान्वयनमा समेत उक्त आन्दोलनले असर परिरहेको विश्वविद्यालय प्रशासनको भनाइ छ ।

प्रकाशित मितिः   १० आश्विन २०७८, आईतवार ०५:०१