बजारभरी बेथिति

यस वर्षका प्रमुख चाडपर्व नजिकिदै छन् । चाडपर्वसँगै बर्सेनि बजारमा बेथिति भित्रिन्छन् । दैनिक उपभोग्य वस्तुहरूमा महँगी बढ्छ । बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती भेटिन्छन् । बेच्न राखिएका खाद्यदेखि लत्ताकपडासम्म गुणस्तरहीन भेटिन्छन् । चाडपर्वमा बजार बढी नै अव्यवस्थित बन्छ । दसैँ–तिहारजस्ता चाडपर्व नजिकिएसँगै अहिले बजारमा बेथिति देखिन थालिसकेका छन् । अन्य समयभन्दा बढी कारोबार हुने भएकाले चाडपर्वको मौका छोपेर व्यापारीहरूले उपभोक्तालाई मूल्य र गुणस्तरमा ठगी गर्छन् । कर्णाली प्रदेशका सबैजसो जिल्लाका बजारमा यस्तो समस्या छ । निजी क्षेत्रले मात्र होइन सरकारी कम्पनीहरूले समेत गुणस्तरहीन र अखाद्य वस्तु बिक्री गर्ने गरिरहेका छन् । ग्रामीण भेगका साना बजारदेखि वीरेन्द्रनगरमा सञ्चालित ठूलो लगानीका व्यवसायमा पनि उपभोक्ता ठग्ने प्रवृत्ति उस्तै छ ।

बजारको बेथिति नियन्त्रण गर्न बेलाबखत बजार अनुगमन हुन्छ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गर्ने अनुगमनका क्रममा थुप्रै बदमासी भेटिन्छन् । कतिपयले गुणस्तरहीन सामग्री बेचेको, उद्योग दर्ता नगरी सञ्चालन गरेको, सञ्चालन अनुमति पत्र नै नलिएको जस्ता बदमासी गरेको देखिन्छ । विशेष गरेर पानीसहितका अन्य पेय पदार्थ, तेल र दूधलगायतमा समस्या देखिने गरेको छ । वस्तुको मूल्यसूचि नराख्ने गरेको, अखाद्य वस्तु बिक्री गरेको र केही पसलहरूले चर्को मूल्यसमेत लिने गरेको भेटिएका छन् । बजारमा बेथिति बढ्नुमा व्यापारीहरूको दोष त छँदैछ साथमा उपभोक्ता सचेत नहुँदा पनि विकृति बढेको छ । उपभोक्ताहरू आफै सचेत नहुँदा थप मर्कामा परिरहेका छन् । सामान खरिद गर्दा पसलमा राखिएको मूल्यसूचि, वस्तुको उत्पादन र खानयोग्य मितिलगायतमा उनीहरू ख्याल गर्दैनन् । यी कुरामा मात्र ध्यान दिन सके ९० प्रतिशत उपभोक्ताको अधिकार सुनिश्चित हुने उपभोक्ता अधिकारकर्मीहरूले बताउने गरेका छन् । उनले भने, ‘बजार अनुगमनलाई प्राथमिकता दिइएको छ । व्यापारीहरूले गढबड गरेको भेटिए ऐन÷कानुन अनुुसार तुरुन्तै कारबाहीको दायरामा ल्याइन्छ ।’ चाडपर्वका बेला मूल्य वृद्धि, कालो बजारी, कृतिम अभाव तथा अखाद्य वस्तु बिक्री हुन सक्ने भन्दै प्रशासनले अनुगमनमा कडाइ गरेको छ । प्रशासनले अखाद्य वस्तु भेटिए नष्ट गरेर आइन्दा यसो नगर्न सचेत गराउँदै आएको छ भने बारम्बार बजारमा मनलाग्दी गर्ने व्यापारीहरूलाई कारबाही पनि गर्दै आएको छ ।

अखाद्य वस्तु बिक्री वितरणमा रोक लगाउन बजार अनुगमन प्रभावकारी बनाउनुपर्दछ । प्रशासन कार्यालयले नियमित बजार अनुगमन गरिरहेको दाबी गर्दै आएपनि त्यसको प्रभाव भने न्यून देखिन्छ । अनुगमन कर्मकाण्डी भएकै कारण व्यापारीहरूको मनोमानी हुने गरेको उपझोक्ताहरूको गुनासो छ । अखाद्य वस्तु बिक्री गरेर जन स्वास्थ्यमा खेलबाड गर्ने समेत कानुनी दायरामा आउन सकेका छैनन् । नियामक निकायको उदासीनताले मनोमानी गर्ने व्यापारीहरू उम्कदै आएका छन् । सरकारी निकायको कमजोर उपस्थितिले नै बजारमा महँगी र कालोबजारीजस्ता समस्या देखिने गरेका हुन् । ग्रामीण क्षेत्रका बजारहरूमा झन् वर्षमा एक पटक पनि अनुगमन हुने गरेको छैन । जसले गर्दा विकट क्षेत्रका बासिन्दा महँगी र व्यवसायीको मनपरी सहन बाध्य छन् ।

प्रकाशित मितिः   १० आश्विन २०७८, आईतवार ०५:००