लेकवेशीमा प्राविधिक जनशक्ति अभाव

जनशक्ति अभावका कारण लेकवेशी नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ । नगरपालिकामा दरबन्दीअनुसारका प्राविधिक कर्मचारी छैनन् ।

पालिकामा कृषि प्राविधिकको संख्या न्यून हुँदा सेवा दिन समस्या भइरहेको हो । १० वटा वडा रहेको लेकवेशीमा कृषि शाखामा जम्मा चार जना कर्मचारी कार्यरत छन् । दुई जना पाँचौँ र दुई जना चौँथो तहका प्राविधिकले कृषिसम्बन्धी सबै खाले सेवा दिँदै आएका हुन् ।

प्रत्येक वडामा एक जना कृषि प्राविधिक हुुनुुपर्ने व्यवस्था छ । लेकवेशीमा भने न्यून जनशक्तिले १० वटै वडा धानिरहेका छन् । सबै वडामा प्राविधिक नभएपछि कृषि सेवा पाउनै मुस्किल हुने गरेको स्थानीयको गुनासो छ । आफूहरूले लगाएका तरकारी, फलफूललगायतका अन्य बालीमा विभिन्न प्रकोप हुँदा पनि प्राविधिक परामर्श नपाइने गरेको कृषकहरू बताउँछन् । यही कारण रोग तथा किराबाट बाली जोगाउन र त्यसको निदान गर्ने उपाए नपाएर नोक्सानी ब्यहोर्नु परिरहेको छ ।

कृषि शाखामा कार्यरत विजय खड्काले प्राविधिक कर्मचारीको अभावमा अपेक्षित सेवा प्रवाह गर्न चुनौती रहेको जनाए । एक जना कर्मचारीले दुईभन्दा बढी वडा हेर्नुपर्दा सेवा प्रवाहमा समस्या भइरहेको उनी बताउँछन् । कृषि शाखाको प्रमुख पद समेत रिक्त छ । माथिल्लो तहका कर्मचारी नहुँदा सो शाखा प्रमुखविहीन भएको हो ।

उक्त शाखाले किसानलाई बिउबिजन वितरण गर्नेदेखि प्राविधिक परामर्श दिनुपर्ने हुन्छ । भौगोलिक हिसाबले पनि जिल्लाकै दोस्रो ठूलो पालिका लेकवेशीमा आवश्यक कर्मचारी नभएपछि सेवा प्रवाहमा कठिनाइ भएको हो । उक्त नगरपालिका पशुपालन र कृषि उत्पादनका लागि उपयुक्त मानिन्छ । तर, यहीँ पालिकाले प्राविधिक कर्मचारीको अभाव झेल्नुपरेको छ ।

नगरप्रमुख गगनसिं सुनारले कम जनशक्तिबाट पनि सबै वडामा सेवा दिने गरी व्यवसथापन मिलाइएको बताए । नगरवासीलाई गुणस्तरीय र भरपर्दो सेवा दिनतर्फ पालिकाले निरन्तर प्रयास गरिरहेको छ,’ उनले भने, ‘भएका प्राविधिकहरू फिल्डमै खटिएर सेवा प्रवाह गरिरहनु भएको छ ।’ हरेक वडामा एक जना विषयगत शाखाको प्राविधि भए प्रभावकारी सेवा दिन सकिने उनको भनाइ छ । उनले प्राविधिकको अभावलाई पालिकाले छिटो समाधान गर्नेगरि प्रयास थाल्ने जनाए ।

निगरानी समूहको अनुगमन लेकवेशीमा निगरानी समूहले पालिकाले दिइरहेका सेवाबारे अनुगमन गरेको छ । सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन नगरको कृषि शाखाको अनुगमन गरिएको छ । सुन्दर नेपाल संस्था अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजना सुर्खेतको आयोजनामा गठित निगरानी समूहले अनुगमन तथा त्यहाँको अवस्थाबारे छलफल गरेको हो । अनुगमन तथा निगरानीका क्रममा पर्याप्त कर्मचारी नहुँदा सेवा दिन समस्या भइरहेको पाइएको छ । समयमै काम नहुँदा सेवाग्राहीलाई सास्ती हुने गरेको हो ।

अनुगमनका क्रममा नगरपालिकाको कृषि शाखा खुल्ने र बन्द हुने समय, बिउबिजनको वितरणको अवस्था, निःशुल्क बिउ उपलब्धता, प्राविधिक सेवा प्रवाहका लागि आवश्यक नीति, नियम तथा कानुन निर्माणका सम्बन्धमा जानकारी लिइएको थियो । विपन्न लक्षित वर्गका लागि ल्याइएका विशेष कार्यक्रमहरूको प्रगति तथा कार्यान्वयनको अवस्था लगायतका विषयमा कृषि शाखाका प्राविधिक खड्काले जानकारी गराएका थिए ।

यसैबीच, लेकवेशी–४ दशरथपुुरमा रहेको जीवनज्योति नमुना माध्यमिक विद्यालयको पनि निगरानी गरिएको छ । विद्यालयमा भए गरेका विभिन्न शैक्षिक गतिविधिको अनुगमन भएको हो । विद्यालयमा खानेपानी, शौचालय, सेनेटरी प्याडको उपलब्धता, विषयगत शिक्षक र पाठ्यपुस्तक उपलब्ध भएको पाइएको थियो ।

प्रकाशित मितिः   १० आश्विन २०७८, आईतवार ०५:००