कर्मचारी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रीय कार्यालयमा सरकारी पक्षबाट लगाइएको ताला खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । केन्द्रीय कार्यालयमा लगाएको ताला खोली विधानसम्मत निर्वाचित पदाधिकारीलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

केही दिनअघि संगठनको केन्द्रीय कार्यालय बबरमहलमा संगठनको ब्यानर, झण्डा च्यात्नुका साथै ढुंगामुढा प्रहार भएको थियो । उछृंख्ल गतिविधि गर्नेलाई कानुनी कारबाही गर्नुको साटो उल्टै संगठनका आधिकारिक पदाधिकारी, सदस्यहरूलाई पक्राउ गरी प्रहरी प्रशासनले कृत्रिम विवादको बहाना बनाई तालाबन्दी गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । जिल्ला कार्य समितिका उपाध्यक्ष हिराकुमारी पौडेल र सचिव हेमन्त चुनाराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा तत्काल समस्या समाधान नभए थप आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कर्मचारी संगठनको उक्त ज्ञापनपत्र केन्द्रमा पठाउने बताए ।

प्रकाशित मितिः   ११ आश्विन २०७८, सोमबार ०५:००