वार्ता सहमति नजिक
मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले आन्दोलनरत प्राध्यापकहरूको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको बताएको छ । विज्ञप्ति जारी गरी आन्दोलनरत प्राध्यापक संगठनलाई तत्काल वार्तामा आउन विश्वविद्यालय प्रशासनले आग्रह गरेको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक संगठनबीच पटक–पटक वार्ताको प्रयास भए पनि सहमति भने जुट्न सकेको छैन ।
विश्वविद्यालयले बुधवार साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको थियो । उच्चस्तरीय वार्ता समिति र प्राध्यापक संगठनहरूबीच बुधवार वार्ता पनि भयो । तर, छलफल निष्कर्षमा भने पुग्न सकेन । विश्वविद्यालको उच्चस्तरीय वार्ता समितिका सदस्य उपप्रध्यापक विष्णुकुमार खड्काले वार्ता सकारात्मक र निष्कर्ष उन्मुख रहेको जनाए । ‘दुवै पक्ष बुधवार झन्डै तीन घण्टा वार्तामा बस्यौँ,’ खड्काले भने, ‘विश्वविद्यालय र आन्दोलनरत पक्ष सहमतिको नजिक पुगेको छ । थप गृहकार्य गरेर बिहीवार टुङ्गोमा पुग्ने तयारी छ ।’
विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी संगठनसँग भएका सहमति कार्यान्वयन गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवम् दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न तथा एघारौं सभासम्बन्धी तयारीमा अवरोध पुगेको जनाएको छ । विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, राष्ट्रिय प्राध्यापक संगठन र आंशिक प्राध्यापक संगठन आन्दोलित छन् ।
प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।