एघार कैदीलाई माफी

कारागारमा रहेका ११ जना कैदीबन्दीले सजाय माफी पाएका छन् । आइतवार संविधान दिवसको अवसरमा सुर्खेत कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेकाहरूलाई माफी दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैदीबन्दीले कैद मिनाहा तथा माफी पाएका हुन् ।

अपराधको प्रकृति हेरी ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी सजाय मिनाहा गरी रिहा गरिएको छ । ‘संविधान दिवसको अवसरमा कारागारमा रहेका ११ जनालाई कैद मिनाहा गरिएको छ,’ सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले भनिन् । उनकाअनुसार कैद मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्दा, खुन डाँका मुद्दा, सवारीबाट अङ्गभङ्ग मुद्दा, ज्यान मार्ने उद्योग, बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका कैदीहरू छन् ।

कैदी बन्दीको बानी व्यवहार, चालचलन राम्रो भएपछि कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था छ । सोही प्रक्रिया अनुसार केही व्यक्तिहरूको कैद मिनाहा गरिएको जेलर खरेलले जानकारी दिइन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सुर्खेत कारागारमा हाल तीन सय ४० जना कैदीबन्दीहरू विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका छन् । तीमध्ये तीन सय दुई जना पुरुष र ३८ जना महिला हुन् । यो वर्ष देशभर पाँच सय २३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ ।

प्रकाशित मितिः   ४ आश्विन २०७८, सोमबार ०५:०५