बाढीपीडितलाई भूकम्पपीडितसरह राहत दिन मन्त्री र सांसदको माग

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी र सांसद सीता नेपालीले सुर्खेतका बाढीपीडितलाई पनि भूकम्पपीडितसरह राहत उपलब्ध गराउन माग गरेका छन् ।

सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले यहाँका बाढीपीडितको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री थानीले सुर्खेतका बाढीपीडितहरुलाई राज्यले सम्बोधन गर्न नसकेको भन्दै भूकम्पपीडितहरुलाई र बाढीपीडितहरुलाई समान रुपमले राहत उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरे ।

सांसद सीता नेपालीले सुर्खेतका बाढीपीडितहरु र पूर्वका भूकम्पपीडितहरुको समस्या उस्तै भएको भन्दै समान रुपमा राहत उपलब्ध गराउनुपर्ने बताईन् । उनले जतिसक्दो छिटो उनीहरुको पुनर्वासको व्यवस्था गर्न समेत माग गरिन् ।

प्रकाशित मितिः   २४ मंसिर २०७३, शुक्रबार १२:१६