खानेपानी योजना अलपत्र

दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका दुई वटा खानेपानी योजना अलपत्र परेका छन् । गाउँपालिका–३ मा रहेको माझर्खक ठूलाछहरा र वडा नम्बर १ को मुङ्ग्रा गताड खानेपानी योजनाको निर्माण कार्यमा ढिलाइ भएको हो । यी दुवै योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासीहरू मर्कामा परेका हुन् । योजना अलपत्र भएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारको एक करोड पाँच लाख रूपैयाँ बजेटमा काम थालिएको माझर्खक ठूलाछहरा खानेपानी योजना तीन वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । योजना क्रमागत भए पनि काममा निकै ढिलासुस्ती भएको भन्दै स्थानीयले ठेकेदारको लापरबाहीले अलपत्र परेको आरोप लगाएका छन् । खानेपानी योजना निर्माणको जिम्मा विजय कन्ट्रक्सनले लिएको छ । कन्ट्रक्सनका सञ्चालक उपेन्द्र बोहोराले निर्माणको काम सम्पन्न भइसकेको दाबी गरे । काम सकिसकेको र प्राविधिकले अनुगमन समेत गरिसकेको अवस्थामा गाउँपालिकाले भुक्तानी दिन आनाकानी गरिरहेको उनी बताउँछन् । योजना गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । ठेक्का पाइसकेपछि काम नगरेर बिचैमा अलपत्र छोड्दा भुक्तानी नदिइएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

सोही गाउँपालिकाकै वडा नम्बर–१ मा रहेको मुङ्ग्रा गताड खानेपानी योजनाको काम त्यस्तै लथालिङ्ग छ । योजनाको कामले लामो समयदेखि गति नलिएको हो । उक्त योजना पनि आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण सुरू भएको थियो । तीन वर्षअघि सुरू भएको योजना अझै सम्पन्न नहुँदा झन्डै दुई सय घरधुरीका आठ सय जना पानी पिउनबाट वञ्चित भएको स्थानीय मुकुन्द रेग्मीले बताए । निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । उपभोक्ता समितिको लापरबाहीले काम अलपत्र रहेको रेग्मीले बताए । यो खानेपानी योजना गाउँपालिकाको ३३ लाख रूपैयाँ बजेटमा निर्माण सुरू गरिएको हो ।

माझर्खक ठूलाछहरा खानेपानीयोजनामा १२ वटा ट्याङ्की र ७८ वटा धारा जडान गर्नुपर्ने छ । तर, अहिलेसम्म पाँच वटा ट्याङ्की र केही स्थानमा धाराका लागि पाइप बिछ्याउने काम मात्र भएको छ । यी दुवै खानेपानी आयोजनाको कामले गति नलिनुमा गाउँपालिका, निर्माण कम्पनी र उपझोक्ता समितिको लापरबाही रहेको स्थानीयले बताएका छन् । गाउँपालिकाका सव–इन्जिनियर लवराज सिजापति स्थानीयवासीको पटक–पटकको अवरोधका कारण योजना सम्पन्न हुन ढिलाइ भएको बताउँछन् ।

मुङ्ग्रा खानेपानी योजना अन्तर्गत १० हजार लिटरका दुई वटा ट्याङ्की र ९९ वटा धारा बनाउने स्टिमेटमा उल्लेख छ । हालसम्म दुई वटा ट्याङ्की मात्र बनाएर उपभोक्ता समितिले योजना अलपत्र पारेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाका अध्यक्ष शाही मुङ्ग्रा गताड खानेपानी योजनाको काम बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘त्यो योजनाको बारेमा मलाई त्यति जानकारी छैन’, उनले भने, ‘माझखर्क ठूलाछहरा खानेपानी योजना भने अधुरै छ ।’

गाउँपालिकामा सञ्चालित दुई वटै खानेपानी योजना निर्माणको काम गरेका कतिपय मजदुरले अझै ज्याला पाएका छैनन् । मुङ्ग्रा गताड खानेपानी योजनामा काम गरेका मजदुरले आफूहरूले काम गरेको ज्याला नपाएको गुनासो गरेका हुन् । ‘आयोजनामा १५ दिनसम्म काम गरियो । दैनिक गिटी कुट्ने र बालुवा बोकिएको थियो,’ टीकुली रोकाले भनिन्, ‘साँझ–बिहानको छाक टार्न धौ–धौ भएको छ । काम गरेको पैसा कसैले दिएनन् ।’ उनले बारम्बार समितिलाई भने पनि आफ्नो ज्याला नपाएको बताइन् ।

प्रकाशित मितिः   ३ आश्विन २०७८, आईतवार ०५:००