सावधानीसहित पठनपाठन

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय बन्द रहे । कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले सरकारले विद्यालय बन्द गरेको थियो । लामो समय बन्द रहँदा शैक्षिक गतिविधि पूर्णतः प्रभावित बने । यसबीचमा वैकल्पिक माध्यमबाट पढाउने प्रयास नगरिएको होइन । तर त्यो प्रभावकारी हुन सकेन । सबै बालबालिका इन्टरनेटको सहज पहुँचमा नपुगेका कारण वैकल्पिक विधि उपयोगी हुन सकेन । यद्यपि सहरी क्षेत्रका कतिपय विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका थिए । ग्रामीण क्षेत्रका विद्यालय भने पूर्णरूपमै बन्द भए । विद्यालय बन्द हुँदा पढाइ नियमित भएन, परीक्षा प्रभावित बने । अब भने विद्यालय नियमित रूपमा सञ्चालन हुने भएका छन् । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न थालिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर केही घटेको छ । लकडाउन खुलाइएको छ । अन्य सबैजसो क्षेत्र सञ्चालनमा आइसकेका छन् । जोखिम कम भएपछि सरकारले विद्यालय पनि सञ्चालनको प्रक्रिया अघि बढाएको हो । तर यसका लागि स्थानीय तहलाई जिम्मेवारी दिइएको थियो । स्थानीय तहले जोखिमको मूल्याङ्कन गरी विद्यालय सञ्चालनको निर्णय लिएपछि कर्णाली प्रदेशका सबैजसो विद्यालय सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तयार पारेको मापदण्डअनुसार विद्यालय सञ्चालन गरिएको हो । समितिले संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाएर विद्यालय खोल्न सुझाएको थियो । कोरोना संक्रमणको जोखिम निर्मूल भइसकेको भने होइन । कायमै छ । तर जोखिम छलेर पढाइ अघि बढाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुरु गरिएको हो । तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्नुपर्ने सर्तमा विद्यालय खुलाइएको हो ।

विद्यालय सञ्चालन भएपछि विद्यार्थी खुसी भएका छन् । हाँस्दै खेल्दै विद्यालय जान थालेका छन् । अभिभावक र शिक्षक पनि उत्साहित छन् । लामो समय ठप्प रहेको शैक्षिक गतिविधि सञ्चालनमा आउनु आफैमा खुसीको कुरा हो । यद्यपि जोखिम टरिसकेको छैन, त्यसैले आवश्यक सावधानी अपनाउनेतर्फ पनि उत्तिकै संवेदनशील हुन जरुरी छ । ध्यान दिन आवश्यक छ । कोभिड संक्रमणको जोखिम भिडभाडमा बढी हुन्छ । भौतिक उपस्थितिमै विद्यार्थी पढाउँदा विद्यालयहरूमा स्वभाविक रूपमा भिड हुन्छ । तर आवश्यक सतर्कता अपनाउने हो भने जोखिम नियन्त्रण गर्न सकिन्छ । त्यसैले भौतिक दूरी कायम गरेर अध्यापन गराउन विज्ञहरूले सुझाव दिएका छन् । यसलाई कार्यान्वयन गर्न हेलचक्य्राइँ गर्नु हुँदैन । त्यसो त स्थानीय सरकार चनाखो बनेका छन् । विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर प्रत्येक पालिकामा परीक्षण किट र स्वास्थ्य सामग्रीहरू विद्यालयलाई दिएका छन् । संक्रमणका आशंकित विद्यार्थीहरूलाई निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ । विद्यालयहरूले समेत सोही अनुसारको स्वास्थ्य सतर्कतामा जोड दिएका छन् । तथापी तोकिएको मापदण्ड अनुसार पठनपाठन गरे/नगरेको अनुगमन गर्न भने जरुरी छ । अहिले नै सतर्कता अपनाइएन भने थेग्न नसक्ने संकट आउन सक्दछ ।

प्रकाशित मितिः   ३ आश्विन २०७८, आईतवार ०५:००