जनप्रतिनिधिसँग जनताका गुनासा
जनतासँग प्रत्यक्ष जोडिएका सवालमा केन्द्रीत हुन जनप्रतिनिधिहरूलाई सुझाव दिइएको छ । आफूले चुनेर पठाएका प्रतिनिधिबाट ठूलो आशा र अपेक्षा भए पनि सोअनुरूप काम हुन नसकेको नागरिकहरूको गुनासो छ । संसद् परियोजनाको सहयोगमा आउटलाइन मिडिया प्रालि काठमाडौंले शनिवार सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजना गरेको ‘हाम्रो संसद्’ कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
भेरीगंगा–१० का बीरबहादुर बस्नेतले सरकारले सञ्चालन गरेका कार्यक्रमम जनताको लागि कि कार्यकर्ता खुसी बनाउन भनेर प्रदेशसभाका सांसदहरूलाई प्रश्न गरे । उनले हरेक विकास योजनामा नागरिकले प्रत्यक्ष रूपमा लाभ पाए÷नपाएको अनुगमन गर्न आवश्यक रहेको बताए । बस्नेतले सडक, सिँचाइ, खानेपानी, भवनलगायतका विभिन्न योजना अलपत्र हुँदा पनि जनप्रतिनिधिहरूले बेवास्ता गरिरहेको आरोप लगाए ।
त्यस्तै, भेरीगंगा–१२ का उर्मिला विकले रोजगार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निकै समस्या रहेको बताइन् । उनले भनिन्, ‘कर्णाली सरकारले दलित महिला आय–आर्जन कार्यक्रम ल्याएको छ भन्ने सुनिन्छ । खै हामीले रोजगार पाएनौं ?’ आफूले पढेर पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । सुर्खेतमा वर्षांैदेखि बाढीपीडितहरूको समस्या रहिरहेकाले व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान नदिएको समेत उनको गुनासो छ ।
‘हाम्रो संसद्’ संवाद कार्यक्रममा सहभागी भेरीगंगा–४ का विजय दर्लामी मगरले पनि बाढीपीडितको समस्या सांसदहरूलाई स्मरण गराए । ‘सात वर्षदेखि बाढीपीडितको व्यवस्थापन हुन सकेन,’ उनले भने, ‘उहाँहरूले कष्टर दैनिकी बिताइरहँदा सरकार मूकदर्शक बनेको छ ।’ सोही ठाउँका सन्तबहादुर खत्रीले आफूहरू बाढीपीडित भएर बसेको लामो समय भइसक्दा पनि जनप्रतिनिधिहरूले उचित व्यवस्थापनका लागि पहल नगरेको आरोप लगाए ।
सो कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती, प्रदेशसभा सदस्य खड्गबहादुर खत्री, विमला केसी, अमृता शाहीले जनपक्षीय कानुन निर्माण र विकासका गतिविधिमा आफूहरू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आफूहरूले खबरदारी गरिराख्ने उनीहरूको भनाइ थियो ।
प्रकाशित मितिः ३ आश्विन २०७८, आईतवार ०५:००
साझा बिसौनी ।