प्रधानमन्त्रीलाइ स्वागत गर्न गएकी बालिकाको मृत्यु

विहीवारदेखि सुर्खेतमा सुरु भएको कर्णाली एक्सपो (अन्तर्राष्टिय व्यापार मेला)को उद्घाटनका लागि निकालिएको र्‍यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ । मेला उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्न जाँदै गर्दा १३ वर्षीया समीक्षा आचार्यको निधन भएको हो ।

मेला उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आउने भएपछि वीरेन्द्रनगरस्थित विभिन्न विद्यालयलाइ आयोजकले र्‍यालीका लागि आग्रह गरेको थियो । यहाँका विद्यालयहरूले विद्यालय पोशाकसहित र्‍यालीमा विद्यार्थीहरू सहभागी गराएका थिए । सोहीक्रममा र्‍यालीमा सहभागी छात्रा समीक्षा आचार्य एक्कासी बेहोस भएकी थिइन् । बेहोस भएकी समीक्षालाई उपचारका लागि तत्काल अस्पतालमा भर्ना गरिएको थियो । सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइयो । तर त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गरेका थिए । उनी कक्षा ९ मा अध्ययनरत थिइन् ।

विद्यालय सञ्चालक समितिका पूर्ण नेपालीले घटना दुःखद् भएको बताए । उनले भने, ‘हामीले बिरामी भएका विद्यार्थीहरूलाई सहभागी नहुन सूचना गरेका थियौं, तर समीक्षा पहिले पनि बिरामी रहिछन् । दुःखद् घटना भयो ।’ उपत्यकाका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई पोशाकसहित बिहान १० बजेबाटै ¥यालीमा सहभागी गराइएको थियो । तर प्रधानमन्त्री दाहाल दिउँसो ३ बजे मात्र मेलास्थलमा पुगेका थिए । र्‍यालीमा सहभागी भएर हिँड्दै गर्दा समीक्षा बेहोस भएकी थिइन् । मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ती निकालेर घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रकाशित मितिः   २३ मंसिर २०७३, बिहीबार २०:५७