सर्तसहित खुल्दै विद्यालय
वीरेन्द्रनगरमा आइतवारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरू गर्ने तयारी
वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरू खोल्ने तयारी गरिएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय आइतवारदेखि सञ्चालन गर्ने तयारी थालिएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तयार पारेको मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालनका लागि गत भदौ १८ गते नौ सदस्यीय कार्यदल बनाइएको थियो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा गठित कार्यदलकोे बैठकले विद्यालय सञ्चालनका लागि प्रतिवेदन तयार गरेको छ । सोही प्रतिवेदनका आधारमा सर्तसहित विद्यालय सञ्चालनको तयारी गरिएको छ ।
पहिलो चरणमा विद्यालय, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउनका लागि अभिभावक भेला बोलाइ कोभिडबारे जानकारी दिने, विद्यार्थीलाई घरमा बस्दा वा विद्यालय आउँदा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न सघाउने भनिएको छ । त्यस्तै, दोस्रो चरणमा शिक्षक तथा कर्मचारीहरूले बैठक बसी अध्ययन अध्यापनका विषयमा छलफल गर्ने र आलोपालो पढाउने गरी तयारी गर्न प्रतिवेदनले सुझाएको छ । शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेका अनुसार तेस्रो चरणमा विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने र खानेपानी, कक्षाकोठा तथा विद्यार्थी संख्याको आधारमा पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने छ । खासगरी सम्बन्धित स्थानीय तहको सिफारिसमा विद्यालय खोल्न सक्ने गरी प्रतिवेदन तयार पारिएको न्यौपानेले बताए । उनका अनुसार सुर्खेतका सबै स्थानीय तहहरूले विद्यालय सञ्चालनका लागि निर्णय गरिसकेका छन् ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा अधिकृत उत्तमप्रसाद आचार्यले विद्यार्थी संख्या र भौतिक संरचनाका आधारमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनको तयारी गरिएको बताए । नगरमा अझै पनि कोरोनाको जोखिम रहेकाले अवस्थाको विश्लेषण गरी सो अनुसार अघि बढिने उनी बताउँछन् । ‘सम्भवतः नगरका सबै विद्यालय आइतवारदेखि खुल्छन्,’ उनले भने, ‘तर सर्त भने पूरा गर्नुपर्छ ।’ भौतिक रूपमा पठनपाठन सुरू गरेपछि विद्यालय र अभिभावक अझै बढी जिम्मेवार बन्नुपर्ने उनले बताए ।
जन स्वास्थ्य सेवा कार्यालयका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा सक्रिय कोरोना संक्रमितको संख्या घटेको छ । संक्रमणको जोखिम भने कायमै रहेको कार्यालयले जनाएको छ । विद्यालय सञ्चालनका सम्बन्धमा हरेक साता जिल्ला र स्थानीय तहहरूको अवस्था विश्लेषण गरेर कार्यालयले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई सुझाव दिने बताइएको छ ।
प्रकाशित मितिः २६ भाद्र २०७८, शनिबार ०७:०९
साझा बिसौनी ।