संगठन सुदृढीकरणमा केन्द्रित माओवादी

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश कमिटीको वीरेन्द्रनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी कमिटीलाई बलियो बनाउन र जनतामाझ पु¥याउन अभियानकै रूपमा गतिविधि सञ्चालन गर्न लागिएको हो । प्रदेश कमिटीका सचिव रामदिप आचार्यले वडास्तरका भेलाहरू गर्ने र संगठन सुुदृढीकरणसँगै आर्थिक उत्पादन र जनपरिचालनका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

अभियान अन्तर्गत प्रदेशका सात सय १८ वटा वडामा भेला गर्ने, ७९ वटै पालिका र दशै वटा जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय गरिएको छ । उनले यी ठाउँमा आधारभूत कार्यकर्ता प्रशिक्षणका कार्यक्रमहरू पनि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित गरेर गतिविधि हुने उनको भनाइ छ । आचार्यले भने, ‘हामीले बैठकमा संगठन सुदृढीकरणका लागि काम गर्ने, आर्थिक उत्पादन र जनताको सहभागिता सुनिश्चित गर्ने कार्यक्रममा केन्द्रित भएर छलफल गरेका छौँ ।’

यसैगरी आर्थिक उत्पादन र यसमा जनताको सहभागिता सुनिश्चितताका लागि महिला, दलित, किसान र बेरोजगार व्यक्तिहरूलाई परिचालन गर्ने कार्यक्रम तयार गरिनेछ । बैठकले भदौ २५ गते कर्णालीका दश वटै जिल्लालाई समेटेर भर्चूअल प्रशिक्षण कार्यक्रम पनि गर्दैछ । उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मितिः   २० भाद्र २०७८, आईतवार ०५:००