सुर्खेतमा विद्यालय खोल्ने तयारी

लामो समयदेखि बन्द रहेका विद्यालय खोल्ने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति सुर्खेतको बैठकले जोखिम मूल्याङ्कन गरेर आउँदो सातादेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले बनाएको स्मार्ट लकडाउन कार्यविधि अनुसार विद्यालय सञ्चालनको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदरको मूल्याङ्कन गरेर विद्यालयहरू खुल्ने छन् । स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्नेछन् । तर त्यसका लागि सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि–२०७८ को प्रावधानभित्र रहेर मात्रै सञ्चालन हुनुपर्नेछ ।

स्मार्ट लकडाउन कार्यविधिमा भएको व्यवस्था अनुसार जनस्वास्थ्य सेवा कार्यालयलाई जिल्लाका सबै स्थानीय तहहरूको साप्ताहिक तथ्याङ्कका आधारमा कोरोना संक्रमणदर र जोखिम विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । परिस्थिति विश्लेषण गरी कार्यालयले विद्यालय खोल्न सकिने वा नसकिने अवस्थाको सुझाव पेश गर्नेछ । सोही आधारमा निर्णय गरिने छ । कार्यविधिअनुसार विद्यालय सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउन र सो मापदण्ड अनुरूप विद्यालयहरू सञ्चालन भए÷नभएको अनुगमन गर्न कार्यदल पनि गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलले विद्यालय सञ्चालन गर्न मिल्ने नमिल्नेबारे प्रतिवेदन तयार गर्नेछ । प्रमुख जिल्ला अधिकारी रिजालले बैठकबाट निर्माण भएको कार्यदलले विद्यालय सञ्चालन गर्न मिल्ने÷नमिल्ने विषयमा प्रतिवेदन पेश गरेपछि मात्रै विद्यालय सञ्चालन गरिने बताए । ‘बुधवारसम्म विद्यालय खुल्ने सम्भावना छ’, उनले भने ‘तर गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाउने कुरामा भर पर्छ ।’ उनका अनुसार जनस्वास्थ्य सेवा कार्यालयले समेत प्रत्येक हप्ता सम्बन्धित स्थानीय तहहरूको अवस्थाबारे बुझेर सुझाव दिनेछ । बैठकले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूले कोभिड–१९ सम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मितिः   १९ भाद्र २०७८, शनिबार ०५:०४