कार्यकर्ता रिहाइको माग

सुर्खेत, २८ फागुन । (साबिस)
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी कर्णाली उपब्यूरोले प्रहरीद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ताको रिहाइको माग गरेको छ । दैलेखमा शुक्रवार बिहान पक्राउ परेका आफ्ना कार्यकर्ता कलम विकलाई तत्काल रिहाइ गर्न पार्टीले माग गरेको हो ।
यही फागुन २४ गते माथिल्लो कर्णाली जलविद्युत आयोजनाको गाडीमा आगजनी गरेको आरोपमा दैलेख प्रहरीले माओवादीका जिल्ला सेक्रेटरी विकलाई पक्राउ गरेको नियन्त्रणमा लिएको छ । तर, विक निद्रोष भएको र प्रहरीले झुठो आरोप लगाइ पक्राउ गरेको भन्दै माओवादीले तत्काल रिहाइ गर्न माग गरेको हो ।
शुक्रवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर माओवादीले माथिल्लो कर्णाली आयोजनाको सम्झौता राष्ट्रघाती भएको र आफूहरू त्यसको विरोधमा रहेको भए पनि गाडीमा आगजनी भने पार्टीले नगरेको जनाएको छ । पार्टीका कर्णाली उपब्यूरो इन्चार्ज एटम बिसीले विकको रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।