दोस्रो दिन पैंतीस बिरामीको उपचार

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ फागुन ।
भाइरल ज्वरोका कारण थला परेका बिरामीहरूको उपचारका लागि पश्चिम सुर्खेतको लगाममा रहेको तालागाउँ पुगेका स्वास्थ्यकर्मीहरूले दोस्रो दिन पनि उपचार जारी राखेका छन् । दुई जनाको ज्यान जाने गरी फैलिएको संक्रमण नियन्त्रणका लागि पुगेका उनीहरूले दोस्रो दिन शुक्रवार ३५ जना बिरामीको उपचार गरेका हुन् । बिहीवारदेखि उपचार सुरु भए पनि थला परेका बिरामीहरू भने ठाडो उठ्न सकेका छैनन् । 
भाइरल ज्वरोका कारण लगामको तालागाउँमा पूरा गाउँनै थला परेको छ । बिरामीहरूको बिहीवारदेखि स्वास्थ्यकर्मीले उपचार गर्नुका साथै औषधि समेत वितरण गरिरहेका छन् । उपचारका लागि प्रभावित क्षेत्रमा पुगेका लगाम स्वास्थ्यचौकीका इन्चार्ज मोहन रानाले शुक्रवार थप ३५ जना बिरामीको उपचार गरिएको जानकारी दिए । स्थानीय विद्यालयमा स्थापना गरिएको स्वास्थ्य शिविरमा बिरामीहरूको उपचार भइरहेको छ । बिहीवार गाउँका एक सय ३२ जना बिरामीको उपचार गरिएको थियो । बिरामीहरू उपचारका लागि आउनेक्रम जारी रहेको उनको भनाइ छ ।
स्वास्थ्यकर्मीले गाउँमै गएर उपचार सुरु गरेर औषधि वितरण गरेको भए पनि बिरामीहरूमा सुधार आउन नसकेको बताइएको छ । स्थानीय बासिन्दा देवसरा साँवदले औषधि सेवन गरेको भए पनि बिरामीमा सुधार नआएको बताइन् । उनले भनिन्, ‘प्रायः सबैले औषधि खाएका छन्, उपचार पनि भइरहेको छ । तर, थला परेका बिरामीहरू अझै ठाडो उठ्न सकेका छैनन्, कहिले निको हुने हो खै ?’ स्वास्थ्यकर्मीको टोलीले बिहीवारबाट गाउँमा शिविर स्थापना गरेर बिरामीहरूको उपचार गरिरहेको छ । सिकिस्त भएका केही बिरामीलाई आफूहरूले विशेष निगरानीमा राखेर उपचार गरिरहेको अहेव रानाले बताए । उनका अनुसार पहिलाको तुलनामा संक्रमण नियन्त्रणमा आउन थालेको छ । शिविरसम्म आउन नसकेका बिरामीहरूलाई बोकेर भएपनि उपचार र औषधि प्रदान गरिएको उनको भनाइ छ । साथै उनले थप तीनदेखि चार दिनसम्म आफूहरू प्रभावित क्षेत्रमा नै बसेर बिरामीको उपचार गर्ने जानकारी दिए । गाउँमा फैलिएको संक्रमणका कारण यसअघि स्थानीय मानसिं साँवद र खड्कबहादुर साँवदको ज्यान गएको थियो । अहिले पनि गाउँमा डेढ सय भन्दा बढी बिरामी छन् । बिरामीहरूमध्ये ७० प्रतिशत बालबालिका र अधिकांश महिला छन् । बिरामीहरूमा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्ता लक्षणहरू देखिएका छन् । मौसम परिवर्तनका कारण भाइरल ज्वरोको प्रकोप बढेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले भने सरसफाइ र खानपिनमा ध्यान दिन सबैसँग आग्रह गरेको छ । कार्यालयले भाइरल नियन्त्रणका लागि सबै उपाय अपनाइने भन्दै नआत्तिन समेत आग्रह गरेको छ । 
प्रकाशित मितिः   २९ फाल्गुन २०७२, शनिबार ११:२२