‘बाढीपीडितको पुनस्र्थापना छिट्टै’

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ फागुन ।
उपप्रधानमन्त्री भीमबहादुर रावलले सुर्खेतका बाढीपीडितहरूको पुनस्र्थापनाको काम अब तीव्र गतिमा हुने बताएका छन् । देशमा जारी राजनीतिक गतिरोध र भूकम्पका कारण बाढीपीडितहरूको पुनस्र्थापनामा केही ढिलाइ भएको भन्दै उनले अबको केही महिना भित्रमा विस्थापितहरूको व्यवस्थापन हुने बताए । त्यसका लागि वर्तमान सरकार गम्भीर भएर लागको समेत उनको भनाइ छ । 
गृह जिल्ला अछाम जाने क्रममा शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग रक्षामन्त्रीसमेत रहेका रावलले बाढी र पहिरोका कारण घरबारविहीन भएका सुर्खेतका विस्थापितहरूको पुनस्र्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘बाढीपहिरोले सुर्खेतमा तहसनहस बनाएको छ, सयौं परिवार अलिले पनि त्रिपालमै छन् । उनीहरूको पुनस्र्थापना जतिसक्यो चाँडो हुनुपर्छ, त्यसका लागि सरकार गम्भीर भएर लागेको छ ।’ उपप्रधानमन्त्री रावलले बाढीपीडितलाई पनि भूकम्पपीडित सरह नै प्राथमिकता दिएर काम अगाडि बढाइने बताए । सरकारले विस्थापितको पुनस्र्थापनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक काम गर्न निर्देशन दिइसकेको समेत उनले जानकारी दिए ।
मधेस आन्दोलन र नयाँ संविधान घोषणाको प्रक्रियामा देश केन्द्रित भएका कारण बाढीपीडितहरू आझेलमा परेको भए पनि अब छिट्टै उनीहरूको व्यवस्थापन हुने रावलको भनाइ छ । सरकार विस्थापितको समस्याप्रति गम्भीर रहेको भन्दै उनले अब केही समय धैर्य गर्न समेत आग्रह गरे । प्राकृतिक प्रकोपबाट पीडित भएका जनतालाई राहत दिन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले सुर्खेतका बाढीपीडितको पुनस्र्थापनाको काम चाँडै सम्पन्न हुने उल्लेख गरे । पुनस्र्थापनाको केही कामहरू सुरु भइसकेको भन्दै उनले अब थप गतिका साथ काम हुने आश्वासन दिए । अघिल्लो वर्षको साउनमा आएको बाढी र पहिरोका कारण घरवारविहीन भएपछि अहिले जिल्लाका करिब एक हजार परिवार विभिन्न शिविरमा त्रिपाल टाँगेर बस्दै आएका छन् । विस्थापित भएको दुई वर्ष पुग्न लाग्दा समेत उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बेला–बेलामा जिल्लामा आउने सरकारी अधिकारी र दलका नेताहरूले विभिन्न आश्वासन दिएको भए पनि विस्थापितको पुनस्र्थापना हुन सकेको छैन ।
यसैबीच उपप्रधानमन्त्री रावलले स्थानीय निकायको चुनाव सम्पन्न भएपछि मात्र नयाँ सरकार गठन हुने बताएका छन् । वर्तमान सरकार परिवर्तनको बारेमा चर्चा भइरहेको बेला रक्षामन्त्रीसमेत रहेका रावलले अहिले नै नयाँ सरकार बन्ने सम्भावना नरहेको बताए । साथै उनले केपी ओली नेतृत्वको वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने समेत दाबी गरे । सरकार स्थानीय निकायको चुनाव गराउनका लागि अन्तिम तयारीमा रहेको भन्दै उपप्रधानमन्त्री रावलले प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि त्यसले थप गति लिने जानकारी दिए । रावलले भने, ‘नेपालमा धेरै हल्लाहरू चल्छन्, त्यसको पछाडि नलागौं । अहिले नै यो सरकार परिवर्तन कुनै पनि हालतमा हुँदैन, स्थानीय निकायको निर्वाचन गराएर मात्र नयाँ सरकारको बारेमा छलफल हुन्छ ।’ अहिलेको सरकार बहुमतको आधारमा निर्माण भएकाले कसैले चाहेर पनि ढाल्न नसक्ने उनको दाबी छ । स्थानीय निकायको चुनाव सम्पन्न गर्नका लागि सरकारले आवश्यक कानुनहरू समेत निर्माण गरिरहेको भन्दै उनले अब राजनीतिक दलहरूसँग परामर्श गरेर चुनावको मिति तोकिने जानकारी दिए । 
वर्तमान सरकारको मुख्य प्राथमिकता नै नयाँ संविधानको कार्यान्वयन र स्थानीय निकायको चुनाव गराउनु भएकाले आफूहरू त्यसमा केन्द्रित रहेको रावलको भनाइ छ । स्थानीय निकायलाई अब जनप्रतिनिधिविहीन बनाउन नहुने भन्दै रावलले देशमा छिट्टै स्थानीय चुनाव हुने बताए । स्थानीय निकायको चुनाव सम्पन्न गर्नका लागि सरकारलाई सहयोग गर्न समेत उनले दलहरूलाई आग्रह गरे । मधेसको समस्या समाधान तत्काल हुने र त्यसपछि सरकार तथा दलहरू स्थानीय निकायको चुनावमा होमिने उनको भनाइ छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि देशमा रहेका सबै समस्या र गतिरोधहरूको अन्त्य हुने समेत उनले जानकारी दिए । एमालेका उपाध्यक्षसमेत रहेका रावलले अब कांग्रेसलाई पनि वर्तमान सरकारमा सहभागि गराइने जानकारी दिए । त्यसका लागि कांग्रेससँग पार्टीले छलफल गरिरहेको भन्दै संविधान कार्यान्वयनका लागि पनि कांग्रेस र मधेसवादी दलहरू वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताए । रावललाई भेट्न एमाले नेताहरू राजबहादुर बुढा, धुव्रकुमार शाही, अमृत बिसी, मोहन बडुवाल, बमबहादुर बिसी र पार्टीका कार्यकर्ताहरू विमानस्थलमा पुगेका थिए ।
प्रकाशित मितिः   २९ फाल्गुन २०७२, शनिबार ११:२७