माधव नेपाल पछुताउने छन्ः ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले माधव नेपालले नयाँ पार्टी बनाएर गल्ती गरेको बताएका छन् । ‘माधव कमरेडले ठूलो गल्ती गर्नुभएको छ । समयक्रममा गल्तीको महसुस गर्नुहुनेछ,’ मंगलवार बिहान एमाले प्रदेश समन्वय कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई अहिले चालेको कदम गलत थियो भन्ने कुनै बेला महसुस हुने नै छ ।’
नेता ज्ञवालीले माधव नेपाल वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयासमा लागेको भन्दै यस्तो खेलमा नलाग्न आग्रह गरे । ‘एमालेलाई सिध्याउन सकिन्छ कि भनेर लागिराख्नु भएको छ,’ उनले भने, ‘एमालेलाई त सिध्याउनु होला त्यसले तपाईंहरूको पनि जित पक्कै हुने छैन ।’ यस्ता गतिविधिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आफैं नोक्सान पुग्ने ज्ञवालीको जिकिर थियो ।
माधव नेपालले गठन गरेको नयाँ पार्टी एकीकृत समाजवादीका नीति, विचार र एजेण्डा एमालेकै भएको समेत उनले ठोकुुवा गरे । ‘उहाँहरूका पार्टीका दस्तावेज हेरियो हुबहु एमालेकै छन्,’ उनले थपे, ‘एमालेकै विचार र नीति बोकेर हिँड्ने भए नयाँ पार्टी खोल्नुको औचित्य के रहन्छ ?’ ज्ञवालीले माधव नेपालसहित एक ढिक्का पार्टी बनाउने आफूहरूको प्रयास सफल नभएको भन्दै विभाजन हुनु दुखद् भएको जनाए । विगतमा नेपाल निकट मानिने नेता ज्ञवालीले भने, ‘अन्तिम चरणसम्म प्रयास गरिएकै हो । एमालेमा बस्नै नचाहेपछि हामी पनि उहाँको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेका हौं ।’
उनले एमाले फुट्नुमा पार्टीको आन्तरिक कलह मात्र कारण नभएको औंल्याए । एमाले विभाजन हुनुमा भू–राजनीति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभाव पनि हुनसक्ने उनको भनाइ थियो । एमाले प्रदेश समन्वय कमिटीले भदौ १६ देखि २० गतेसम्म कर्णालीका १० वटै जिल्लामा भेला गर्न लागेको पनि संयोजक ज्ञवालीले जानकारी दिए ।
प्रकाशित मितिः १६ भाद्र २०७८, बुधबार ०५:०४
साझा बिसौनी ।