राधा पौडेलको ‘रोल नम्बर एक’ प्रकाशित

काठमाडौं- लेखक राधा पौडेलको नयाँ पुस्तक ‘रोल नम्बर एक’ प्रकाशित भएको छ । सांग्रीला बुक्सले प्रकाशन गरेको यो पुस्तक पौडेलको बाल्यकालीन संस्मरण हो ।

बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य पुस्तकमा समेटिएको छ । महिला र पुरुषबीच समानताको चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालिन संस्मरण त्यसैको नालीबेली हो।

पुस्तकले नेपाली महिलाहरुको समान र सम्मानपूर्वक बाँच्ने चाहको संघर्षका बारेमा बोध त गराउँछ नै, आज पनि बालिकाहरुले विभेदसँग झुत्ती खेल्दै बाँच्नुपरेको कुरालाई पनि सम्झाउँछ । लेखकका बाल्यकालीन संस्मरणका माध्यमबाट नेपाली समाजमा छोरीहरुको समान र सम्मानपूवक बाँच्ने अधिकारका लागि पैरवी गर्न प्रेरित गर्दछ ।

मदन पुरस्कार विजेता राधाको बाल्यकालिन संस्मरण ‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पिडाको पेटारो हो ।

मर्यादित र सुरक्षित महिनावारीका बिषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन् भने ‘रोल नम्बर एक’ पहिलो बाल्यकालीन संस्मरण हो । ‘खलङ्गामा हमला’ पुस्तकका लागि पौडेलले मदन पुरस्कार प्राप्त गरिसकेकी छन्। मर्यादित महिनावारीकी सामाजिक अभियन्ता उनी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्ति हुन्।

पुस्तकको मूल्य २७५ रुपैयाँ रहेको प्रकाशक सांग्रीला बुक्सले जनाएको छ ।

प्रकाशित मितिः   १६ भाद्र २०७८, बुधबार १२:५७