निकास देउ

सुर्खेत विमानस्थल विस्तारको चर्चा विगत केही वर्षदेखि नै चल्दै आएको छ । यसअघि पनि पटक–पटक धेरथोर रूपमा विस्तार गरिएको थियो । तर पर्याप्त हुन सकेन । अहिले पनि धावनमार्ग साँघुरो छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न समस्या छ । सोही समस्या समाधानका लागि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ । तर अनेक विवादमा अल्झिदै आएको छ । पछिल्लो पटक हुने भनिएको विस्तारको योजनामा पनि विवाद नै बाधक बनेको छ । अहिले उक्त योजना नै अन्योलमा परेको छ । स्थानीय नागरिकको अवरोध पछिल्लो समयको समस्या बन्यो । ठूलो बस्ती तथा भौतिक संरचना मासेर विमानस्थल विस्तार गर्नुभन्दा अन्यत्रै विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि स्थानीयको असन्तुष्टिका कारण कामबीचमै रोकिएको हो । प्रभावित क्षेत्रका बासिन्दाले आफूहरूको उचित व्यवस्थापनको ठोस योजनाविनै विमानस्थल विस्तार गर्न लागिएको भन्दै विरोध जनाएका हुन् ।

संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा विमानस्थल विस्तार गर्ने भनिएको थियो । एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग बनाउने र रात्रीकालीन उडान गर्ने गरी विस्तार गर्ने भने पनि लामो समयसम्म यसको टुङ्गो लागेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त योजनाका लागि ५० करोड बजेट विनियोजन गरेको थियो । काम अघि नबढ्दा सो बजेट फ्रिज गएको छ । विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाइ विस्तार गर्ने योजना थियो । त्यसका लागि ३० बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने भए पनि जग्गा अधिग्रहणमा समस्या भएपछि स्तरोन्नतिका कामहरू रोकिएका हुन । विमानस्थल विस्तारमा स्थानीय नागरिकसँगै वीरेन्द्रनगर नगरपालिका पनि सहमत हुन सकेको छैन । अहिले भनिए अनुसार विमानस्थल विस्तार गरिँदा पनि यसले दिगो समाधान नहुने स्थानीय र नगरपालिकाको भनाइ छ । पछिल्लो समय विमानस्थल विस्तारको विषय ओझेलमा परेको छ ।

गुरुयोजनाअनुसार निर्माण गरेको भए सुर्खेत विमानस्थलमा अहिले देखिएको समस्या नै आउने थिएन । पूर्व–पश्चिम धावनमार्ग बनाउनुपर्ने गुरुयोजना विपरीत उत्तर–दक्षिण बनाउँदा समस्या निम्तिएको छ । विमानस्थल आवश्यक छ । भएको विमानस्थलको विकास र स्तरोन्नति पनि अपरिहार्य छ । तर विगतमा योजना अनुसार काम नगर्दा अहिले समस्या देखिएको हो । पटक–पटक जग्गा अधिग्रहण गर्नु सहज कार्य होइन । आफ्नो आवश्यकता र अनुकूलका संरचना बनाएर बसेको ठूलो बस्ती स्थानान्तरण उत्तिकै चुनौतीपूर्ण छ । अर्कोतर्फ अधिग्रहण गर्ने भनिएको क्षेत्रमा बाक्लो बस्ती छ । मुआब्जा वितरणमा पनि निकै ठूलो रकम खर्चिनुपर्ने हुन्छ । सानो उपत्यकामा ठूलो विमानस्थलको योजना कति सफल र सार्थक हुन्छ भन्ने पक्षलाई पनि नजरअञ्दाज गर्नु हुँदैन । यतिबेला विमानस्थल विस्तार गर्न पनि समस्या र नगर्दा पनि समस्या हुने भएको छ । सम्बन्धित सरोकारवालाहरूले यसको ठोस निकास निकाल्न जरुरी छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७८, मंगलवार ०५:००