अन्ततः अनलाइनबाटै परीक्षा
मध्यपश्चिम विश्वविद्यालय ‐एमयू) मा विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच लामो समयदेखि जारी विवाद समाधान गरिएको छ । विवाद समाधानका लागि गठित वार्ता टोलिले शनिवार साँझ सात बुँदे सहमति गरेको हो । सो सहमतिअनुसार अब विद्यार्थीले भौतिक उपस्थिति र वैकल्पिक माध्यम (अनलाइन) दुईमध्ये कुनै एक रोजेर परीक्षा दिन पाउने भएका छन् । वैकल्पिक माध्यमबाट कुनै पनि हालतमा परीक्षा नलिने अडानमा रहेको विश्वविद्यालय अन्ततः विद्यार्थीका मागप्रति सहमति गर्न बाध्य भएको हो ।
कोरोना संक्रमण (कोभिड–१९) को जोखिम रहेकाले वैकल्पिक माध्यमबाट परीक्षा हुनुपर्नेलगायतका विभिन्न माग राखि विद्यार्थी संगठनहरू डेढ महिनादेखि आन्दोलित थिए । विश्वविद्यालय प्रशासन शैक्षिक गुणस्तर खस्कने भन्दै अनलाइनबाट परीक्षा लिन नसकिने बताउँदै आएको थियो । सहमतिअनुसार परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र विद्यार्थीले तोकिएको ढाँचाको फारम भरी परीक्षा दिन चाहेको माध्यम खुलाउनुपर्नेछ । विद्यार्थीले दिएको आवेदन बमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका सार्वजनिक गरिने छ ।
त्यस्तै, पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई दशैं बिदाअगावै सम्पन्न गर्ने सहमति गरिएको छ । विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्क हेरफेर गर्न कार्यदल गठन गरी पुनःनिर्धारण गर्ने, दीक्षान्त समारोह, सभा, बैठक तोकिएको समयमा सम्पन्न गर्ने पनि सहमति भएका छन् । विश्वविद्यालय र विद्यार्थी संगठनहरूबीच भएको सहमतिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठाएको परिपत्रअनुसार कोभिड–१९ को अवधिभरको शिक्षण शुल्क मिनाहा गर्ने भनिएको छ ।
यसैगरी, भर्ना भएका कूल संख्याको साधारणतर्फ १७ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, हाल वितरण गर्न बाँकी रहेका विद्यार्थीलाई आगामी मंसिर मसान्तभित्र छात्रवृत्ति वितरण गरिसक्ने सहमति गरिएको छ । पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, भौतिक संरचना निर्माण तथा स्तरोन्नति एवम् सञ्चालनका लागि आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा व्यवस्था गरी कार्यान्वयन गर्ने सहमति भएको छ ।
प्रकाशित मितिः १४ भाद्र २०७८, सोमबार ०५:०५
साझा बिसौनी ।