मिडिया मिसनले अध्ययन थाल्यो
कर्णाली प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई एक जना महिलालाई बलात्कार गरेको आरोप लागेको छ । सोही आरोपको समाचार लेख्ने पत्रकारहरू असुरक्षित भएपछि उनीहरूको अवस्था बुझ्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा गठित मिडिया मिसन टोली सुर्खेत आएको छ । मिसन टोलीले सोमवारदेखि उक्त घटनाको अध्ययन थालेको हो ।
बलात्कार आरोपको समाचार लेखेकै कारण असुरक्षित बनेका पत्रकारद्वय नगेन्द्र उपाध्याय र बिस्नप्रसाद न्यौपानेलाई भेटेर उनीहरूको अवस्थाबारे टोलीले जानकारी लिएको छ । पत्रकार उपाध्याय र न्यौपानेले समाचार लेखिसकेपछि आफूहरू घरमा बस्ने अवस्था नरहेको बताएका छन् । फोन तथा सामाजिक सञ्जालबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको भन्दै उनीहरूले आफूले सुरक्षित महशुस गर्न नपाएको बताएका हुन् ।
मिसन टोलीले सोमवार नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुर्खेतमा कार्यरत अन्य पत्रकार तथा अधिकारकर्मीबीच उक्त घटनाको सन्दर्भमा जानकारी लिएको छ । पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा गठित मिसन टोलीमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य दिपेन्द्र शर्मा सदस्य छन् । टोलीका संयोजक विष्टले मिडिया मिसनले यस घटनाको सुक्ष्म रूपबाट अध्ययन गरिरहेको जनाए । टोलीले मुख्यमन्त्री शाहीसँगको भेटमा मन्त्रीमाथि लागेको आरोपले प्रदेश सरकारको लोकप्रियतामाथि आँच आएकोले जतिसक्यो छिटो उचित कदम लिनुपर्ने सुझाएको थियो ।
समाचार लेखेकै आधारमा पत्रकारहरू असुरक्षित बन्ने अवस्था रहेकाले त्यसतर्फ गम्भीर बन्न टोलीले प्रदेश सरकारको ध्यानाकर्षण पनि गराएको छ । मुख्यमन्त्री शाहीले पत्रकारहरूको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको बताउँदै घटनाका बारेमा सरकारले पनि अध्ययन थालेको बताएका थिए ।
प्रकाशित मितिः १५ भाद्र २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।