दुर्घटनाका घाइतेको उद्धार

कर्णाली करिडोरमा भएको गाडी दुर्घटनामा परि घाइते भएकालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमा सोमवार दुर्घटनाका गम्भीर घाइते दुई जनालाई उपचारका लागि ल्याइएको हो । आइतवार कालीकोटको सान्नी त्रिबेणी गाउँपालिका–२ आमतडा क्षेत्रमा सडक दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते रास्कोट नगरपालिका–९ का लक्ष्मीप्रसाद बराल र टेक लुवारलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पठाइएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । आइतवार भएको दुर्घटनामा परी गाडी चालक सान्नी त्रिवेणी–१ का विक्रम गिरीको मृत्यु भएको थियो भने घटनामा परी ११ जना घाइते भएका थिए । घाइतेमध्ये नौ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भैरहेको छ । मानसरोवर रारा यातायातको उक्त जीप त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गर्दा दुर्घटना भएको थियो ।

प्रकाशित मितिः   १५ भाद्र २०७८, मंगलवार ०५:०३