दक्ष जनशक्ति उत्पादनमा जोड

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश विकासका लागि दक्ष युवा जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरू भएको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहीले देश विकासका लागि दक्ष युवा जनशक्ति आवश्यक रहेको औंल्याउदै जेसीजले युुवा नेतृत्वका अभियानहरू सञ्चालन गर्नुपर्ने सुझाए । ‘नेतृत्व विकास र समाज रूपान्तरका लागि जेसीजको महŒवपूर्ण भूमिका छ,’ उनले भने, ‘सामाजिक न्यायका लागि आगामी दिनमा पनि यस्ता संस्थाहरूले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’

सोही अवसरमा बोल्दै सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवाहरू अब मानव सेवा क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बताए । ‘समाजिक सद्भाव र मानव सेवामा जेसीजको योगदान निकै धेरै छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘युवाको नेतृत्व विकास तथा सामाजिक भावनालाई थप सशक्त बनाउन आवश्यक छ ।’ कर्णालीको समग्र विकासमा युवाहरूले हातेमालो गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजले युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणका लागि काम गरिरहेको जनाए । युवाहरूलाई उद्यमशील बनाउने र स्वदेशमै टिकाउने खालका कार्यक्रम ल्याउन उनले सरकारको ध्याकर्षण गराए । यस्तै, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । भौतिक र भर्चूअल दुवै माध्यमबाट दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा युवा नेतृत्व, मानव विकासका लागि नेतृत्वका अभ्यासलगायत विभिन्न विषयमा बहस हुनेछ । जेसीजका अन्य एजेण्डाका सवालमा पनि सम्मेलनमा छलफल गरिने आयोजक संस्थाले जनाइएको छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७८, शनिबार ०५:००