थपिदैछन् संक्रमित

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दुई सय ६० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये झन्डै २० प्रतिशतमा संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार बिहीवार जुम्लामा २१, कालीकोटमा १०, सुर्खेतमा नौ, रुकुम–पश्चिममा ६, मुगुमा दुई, दैलेख र हुम्लामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णालीमा रहेका तर अन्य प्रदेशका एक जनामा पनि संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या सात सय ४२ पुगेको छ ।

कर्णालीमा दैनिकजसो ठूलो संख्यामा संक्रमित पुष्टि हुने गरेका छन् । हाल प्रदेशभर ५५ जना अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् । ६ सय ८७ जना होम आइसोलेसनमा रहेको जनाइएको छ । प्रदेशमा नौ जनाको आईसीयूमा उपचार भइरहेको छ । बिहीवार थप एक जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ६६ पुगेको छ ।

यस्तै, देशभर थप दुई हजार चार सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार तीन सय ७४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण फेला परेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या आठ लाख ३६ हजार आठ सय ८३ पुगेको छ । तीमध्ये सात लाख पाँच हजार आठ सय ९३ जना निको भएका छन् भने १० हजार ६ सय ३८ जनाको ज्यान गएको छ । देशभर ३८ हजार तीन सय ८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ११ भाद्र २०७८, शुक्रबार ०५:०३