डिजिटल प्रविधिको राष्ट्रिय परिचय–पत्रः आठ हजारको विवरण दर्ता

जिल्लामा हालसम्म आठ हजार एक सय ५३ जनाले राष्ट्रिय परिचय पत्रका लागि आफ्नो विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दुई हजार दुई सय ९२ र चालु आर्थिक वर्षको यो अवधिमा पाँच हजार ६१ जनाले विवरण दर्ता गरेका हुन् । जसमा वीरेन्द्रनगर नगरपालिकाको मात्रै पाँच हजार ८४ जनाको विवरण संकलन गरेको हो ।

नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको वायोमेट्रिक सुविधायुक्त परिचयपत्र वितरणका लागि विवरण संकलन भइरहेको छ । वि.सं. २०७५ मंसिर २१ गतेदेखि प्रशासन कार्यालयभित्रै दर्ता स्टेशन स्थापना गरी राष्ट्रिय परिचय–पत्रका लागि विवरण संकलन सुरू गरेको थियो । चालु आर्थिक वर्षको साउन महिनादेखि स्थानीय तहहरूबाट समेत विवरण संकलन थालिएको हो । जस अन्तर्गत पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले काम थालेको थियो । प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानामगरका अनुसार वीरेन्द्रनगरका १ देखि १४ वडासम्म विवरण संकलनको काम भइरहेको छ । उनले १ देखि ४ नं. वडाले हालसम्म ५ हजार ८४ जनाको विवरण संकलन गरेको जनाए । अन्य वडाबाट भने विवरण आइसकेको छैन । नगरका वडा नंं. १५ र १६ मा समेत विवरण संकलनको काम सुरू गर्ने तयारी गरिएको सूचना अधिकारी रानामगरले बताए ।

प्रशासन कार्यालयले राष्ट्रिय परिचय–पत्र इकाई नै स्थापना गरी काम थालेको लामो समयसम्म पनि विवरण दर्ता गराउनेको संख्या न्यून रहे पनि पछिल्लो समय उक्त संख्या वृद्धि भएको छ । स्थानीय तहमा विवरण दर्ता सुरू भएसँगै सहभागिता बढेको हो । राष्ट्रिय परिचय–पत्र विवरण दर्ता गर्न नागरिकता वा विवाह दर्ता, बसाइँसराइँजस्ता कागजात आवश्यक पर्छ । अहिले संकलन भएको नाम दर्ता विवरणका आधारमा फागुुनमा परिचयपत्र वितरण गरिने बताइएको छ ।

डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता संकलनको काम वीरेन्द्रनगर पछि अन्य पालिकामा पनि सुरू हुनेछ । सुर्खेतमा विवरण दर्ता अभियान तीनदेखि चार महिनाको अवधिमा सम्पन्न हुने पञ्जीकरण विभागले जनाएको छ । यो राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी परिचय–पत्र हो । राष्ट्रिय परिचय–पत्रले जन्म, मृत्यु, बसाइँसराइँ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरण सम्बन्धी काम गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७८, मंगलवार ०५:००