कोरोनाका ८० संक्रमित थपिए
आईसीयूमा दश र भेन्टिलेटरमा दुई जना उपचाररत
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कायमै छ । प्रदेशका विभिन्न जिल्लामा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । मंगलवार थप ८० जनामा संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चार सय आठ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सुर्खेतमा ३०, रुकुम–पश्चिममा २२, दैलेखमा ११, कालीकोटमा आठ, मुगुमा तीन, सल्यानमा दुई तथा हुम्ला र जुम्लामा एक÷एक र अन्य प्रदेशका तर कर्णालीमै रहेका दुई जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।
योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३२ हजार एक सय ४६ पुगेको छ । त्यसमध्ये २९ हजार आठ सय ७८ जना निको भइसकेका छन् भने संक्रमित तीन सय ६५ जनाको मृत्यु भएको छ । मंगलवार थप ७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सात सय ९० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १० जनाको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।
निषेधाज्ञा खुकुलो बन्दै गए पछि कोरोना संक्रमणको दर पनि बढ्दो क्रममा देखिएको छ । जोखिम अझै उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न चिकित्सकहरूले सुझाएका छन् । चार चारभन्दा बढी समयदेखि निषेधाज्ञालाई निरन्तरता दिइए पनि त्यसको पूर्णरूपमा कार्यान्वयन भएको छैन । सार्वजनिक स्थानमा भिडभाडजन्य गतिविधि भइरहेकाले संक्रमणको जोखिम पनि बढ्दो छ । तोकिएका व्यवसाय मात्र खोल्न, भिडभाड नगर्न र अनिवार्यरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न स्थानीय प्रशासनले आदेश जारी गर्दै आएको भए पनि त्यसको कार्यान्वयन भए÷नभएकोबारे प्रभावकारी अनुगमन तथा नियमन भने हुन सकेको छैन ।
यस्तै, देशभर मंगलवार दुई हजार पाँच सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार आठ सय १० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या आठ लाख ३१ हजार नौ सय ६८ पुगेको छ । मंगलवार नै दुई हजार ८६ जना निको भएका छन् । संक्रमितमध्ये अहिलेसम्म सात लाख दुई हजार एक सय ८३ जना निको भएका हुन् । कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार पाँच सय ६८ पुगेको छ । देशभर ३८ हजार दुई सय ५० जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मितिः ९ भाद्र २०७८, बुधबार ०५:००
साझा बिसौनी ।