संक्रमण दर २५ प्रतिशत

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम अहिले पनि उच्च छ । प्रदेशमा कोरोना संक्रमण दरमा कमी आएको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार यहाँ संक्रमणदर २५ प्रतिशत छ । साउन महिनाभर स्थिरजस्तै रहेको संक्रमण दर पुनः बढ्न थालेको हो । दोस्रो लहरको सुरूवातीमा ९० प्रतिशतमाथि पुगेको संक्रमण बीचमा २० प्रतिशतसम्ममा झरेको थियो । संक्रमण दर फेरि उकालो लागेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा संक्रमण दर धेरै छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर झनै बढी जोखिममा छ । सुर्खेतमा अहिले पनि ३० देखि ४० प्रतिशत संक्रमण दर छ । प्रदेशभर शनिवार ४४ जना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार एक सय ७२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण फेला परेको हो । जुम्लामा २२, सुर्खेतमा १२, रुकुम–पश्चिममा पाँच, कालीकोटमा तीन, मुगु र दैलेखमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या ३२ हजार १६ जना पुगेको छ । त्यसमध्ये २९ हजार ६ सय ८५ जना निको भइसकेका छन् ।

शनिवार नै थप ४० जना कोरोना संक्रमणमुुक्त भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ । योसहित संक्रमणका कारण प्रदेशमा मृत्यु हुनेको संख्या तीन सय ६४ पुगेको छ । पछिल्ला विवरण अनुसार कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ सय ९० रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि चार महिनादेखि जारी निषेधाज्ञा प्रभावकारी कार्यान्वयन नहुँदा भिडभाडजन्य गतिविधि नियन्त्रण हुन सकेका छैनन् । स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा बेवास्ता हुनु तथा निषेधाज्ञाको अवज्ञा बढ्दै जाँदा पनि संक्रमको जोखिम उस्तै रहिरहेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् ।

यस्तै, शनिवार देशभर दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख २५ हजार सात सय २२ पुगेको छ । थप दुई हजार तीन सय ८२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार नौ सय २५ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमित १० हजार चार सय ८५ जनाो मृत्यु भएको छ ।

प्रकाशित मितिः   ६ भाद्र २०७८, आईतवार ०५:०१