विद्यालयस्तरमा खेलकुदलाई बेवास्ता
वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा खेल क्षेत्रको प्रवद्र्धनका लागि नगरका माध्यमिक विद्यालयहरूमा खेल शिक्षकको व्यवस्थापन गर्ने नीति लिएको छ । नगरपालिकाले ल्याएको यो नीति तथा कार्यक्रमको कार्यविधि निर्माण गरी साउनदेखि नै कार्यान्वयन गर्ने भनिएको थियो । तर, भदौ पहिलो साता बित्नै लाग्दा समेत कार्यक्रमको कार्यविधि बनेको छैन । कार्यविधिनै नबनेका कारण विद्यालयमा खेलकुद शिक्षक राख्ने कार्यक्रम अन्योलमा परेको हो ।
वीरेन्द्रनगर नगरपालिकाले युवा तथा खेलकुद प्रवद्र्धन शीर्षकमा चालु आर्थिक वर्षका लागि २५ लाख बजेट विनियोजन गरेपनि त्यसको कार्यान्वयनका लागि अहिलेसम्म कार्यविधि निर्माण गरिएको छैन। नगरको नीतिमा सामुदायिक विद्यालयहरूमा खेलकुद शिक्षक व्यवस्थापन गरिने भनिएको छ।
नगरपालिकाले युवा तथा खेलकुद प्रवद्र्धन शीर्षकमा चालु आर्थिक वर्षका लागि २५ लाख बजेट विनियोजन गरेको छ । जसमध्ये केही बजेट खेलकुद शिक्षक व्यवस्थापनका लागि खर्चिने भनिएको छ । नगरको वार्षिक नीतिमा महत्वका साथ समावेश गरिएको सो कार्यक्रम कार्यान्वयन हुनेमा यतिबेला सरोकारवालाले शंका व्यक्त गर्न थालेका छन् । नगरभित्र रहेका २२ वटा माध्यमिक विद्यालयहरूमा कतिपयले निजी स्रोतबाट बजेट जुटाएर न्यून पारिश्रमिकमा खेलकुद शिक्षक राखेका छन् । आफ्नै स्रोतबाट विद्यार्थीलाई खेलकुद सिकाइ रहेका विद्यालयहरूसमेत नगरको कार्यक्रमले राहत हुने अपेक्षामा थिए । तर, शैक्षिक सत्र सुरू भएको लामो समयसम्म पनि उक्त कार्यक्रम कार्यान्वयन हुने छाँटकाट देखिएको छैन ।
वीरेन्द्रनगरमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (डाँडा स्कुल), भैरव माध्यमिक विद्यालय र जन नमुना माध्यमिक विद्यालयले निजी स्रोतबाट खेलकुद शिक्षकको व्यवस्थापन गरिरहेका छन् । खेलकुद शिक्षकको व्यवस्थापनमा विद्यालयलाई तीनै तहका सरकारबाट कुनै खालको सहयोग प्राप्त नभएको ती विद्यालयहरूले जनाएका छन् । नगरभित्र खेलकुद शिक्षकका लागि अनुमति–पत्र लिएका २१ जना शिक्षक छन्् । उनीहरू भने बेरोजगार बस्नु परिरहेको छ । खेल शिक्षकका लागि अनुमति पाएका २१ जना शिक्षक÷प्रशिक्षकमध्ये तीन जनाले मात्रै निजी स्रोतमा विद्यालयमा काम गरिरहेका छन् । एकातिर खेलकुद क्षेत्रमा लागेका प्रशिक्षकहरू बेरोजगार हुने र अर्कोतर्फ खेल क्षेत्रको प्रवद्र्धनका लागि ल्याएको कार्यक्रम कार्यान्वयन नहुँदा उनीहरू निराश छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडा स्कुलमा खेल शिक्षकको रूपमा अध्यापन गराउँदै आएका दीपक विकले वीरेन्द्रनगर नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे । ‘खेल क्षेत्रका लागि विद्यालयस्तरबाटै सुरू गर्ने भनिएको कार्यक्रम राम्रो भए पनि यसको कार्यान्वयनमा ढिलाइ भएको छ,’ उनी भन्छन्, ‘खेल क्षेत्रलाई प्राथमिकतामा नराख्ने प्रवृत्तिका कारण यसो भएको होला ।’ उनले विद्यालयस्तरीय विभिन्न प्रतियोगिता आयोजना गर्नका लागि पनि खेलक्षेत्रमा पूर्वलगानी र प्रशिक्षण आवश्यक पर्ने बताए । विद्यालयमा खेलकुद शिक्षक व्यवस्थापन कार्यक्रम नीतिमा मात्रै सीमित नभइ तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा अधिकृत उत्तमप्रसाद आचार्यका अनुसार उक्त कार्यक्रमको कार्यविधि निर्माण भएको छैन । ‘अहिलेसम्म कार्यविधि निर्माण गरेका छैनौं,’ उनले भने ‘जतिसक्दो छिटो कार्यविधि बनाएर कार्यक्रम लागू हुनेछ ।’ नगरभित्रका कति वटा सामुदायिक तथा सरकारी विद्यालयमा खेलकुद शिक्षकको व्यवस्थापन गर्ने, त्यसको लागि कति बजेट आवश्यक पर्छ भन्ने खालको योजनासमेत बनाउँदै गरेकाले कार्यविधि निर्माण ढिलाइ भएको उनले बताउँछन् । अधिकृत आचार्यले तत्कालका लागि नगरका सबै विद्यालयमा भने उक्त कार्यक्रम लागू गर्न सम्भव नभएको जनाए । ‘केही विद्यालयहरूमा नमुनाको रूपमा कार्यक्रम लागू गर्ने तयारी नगरपालिकाको छ,’ उनले भने ।
नगरपालिकाले चालु आर्थिक वर्षमा मेयर तथा उपमेयर कप सञ्चालन गरी सोहीमार्फत खेलकुदमा युवाहरूको सहभागिता बढाउने र विद्यालयस्तरका विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने नीतिसमेत लिएको छ । बजेट नीति तथा कार्यक्रममा खेलक्षेत्रलाई समेट्न खोजिए पनि ती कार्यक्रमको कार्यन्वयनमा भने बेवास्ता गरिएको छ । नगरका सामुदायिक विद्यालयहरूमा प्रशिक्षक मात्र होइन खेलकुद गतिविधि सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको समेत उस्तै अभाव छ । खेल सामग्री र प्रशिक्षक नहुँदा खेलकुदमा करियर बनाउन चाहने विद्यार्थीहरू मर्कामा परेका छन् ।
प्रकाशित मितिः ५ भाद्र २०७८, शनिबार ०९:३८
साझा बिसौनी ।