वीरेन्द्रनगरमा बढ्दो संक्रमण

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । यहाँ पछिल्ला केही दिनयता फेरि संक्रमण बढ्दै गएको पाइएको हो । शुक्रवारसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा कोरोनाका सक्रिय संक्रमित तीन सय ८१ छन् । तीमध्ये वीरेन्द्रनगरका मात्रै तीन सय ५५ संक्रमित हुन् । सहरी क्षेत्र भएकाले भीडभाडजन्य गतिविधिका कारण वीरेन्द्रनगरमा कोरोना जोखिम उच्च देखिएको छ ।

जोखिम बढ्दोक्रममा देखिएपछि नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रममा जोड दिएको नगरका स्वास्थ्य शाखा प्रमुख भुपेद्र गिरीले बताए । अनिवार्य मास्क लगाउन, भौतिक दुरी कायम गर्नलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको उनी बताउँछन् । उनका अनुसार वीरेन्द्रनगरमा हाल कोरोना संक्रमण दर ४० प्रतिशत हाराहारीका छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगरका तीन सय ४६ जना संक्रमित होमआइसोलेसनमा रहेको जनाएको छ । कार्यालयका अनुसार संक्रमणबाट गम्भीर बिरामी परेका नौ जना प्रदेश अस्पतालमा उपचारत छन् ।

यसैगरी, भेरीगंगा नगरपालिकामा २० र गुर्भाकोट नगरपालिकामा ६ जना सक्रिय संक्रमित छन् । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतमा अहिले कोरोना संक्रमणदर ३० देखि ४० प्रतिशतसम्म रहेको जनाए । उनले दिएको जानकारी अनुसार शुक्रवार जिल्लामा परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । शुक्रवार एक सय ६१ को परीक्षण गर्दा ६१ जनामा संक्रमण देखिएको थियो । दोस्रो लहरको सुरुवातीजस्तो नभएपनि संक्रमणको जोखिम भने अझै उच्च रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थानहरूमा मानिसहरूको चहलपहल बढेको छ । जनस्वास्थ्यका मापदण्ड पालनामा पनि हेलचक्य्राँइ गरिएको पाइन्छ । संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावना औंल्याउँदै सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । सुर्खेतमा हालसम्म १२ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्णखोप लगाएका छन् । कर्णाली प्रदेशमा शुक्रवार एक सय नौै जना कोरोना संंक्रमित थपिएका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या नौ सय पुगेको छ ।

प्रकाशित मितिः   ५ भाद्र २०७८, शनिबार ०९:३६