एमालेमा गोलबन्द हुन आग्रह

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले पार्टीमा यतिबेला आन्तरिक संकट निम्तिएकाले फुटपरस्त गतिविधिमा नलाग्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेको छ । प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले सबैलाई पार्टीमा गोलबन्द हुन अनुरोध गरेको हो ।

प्रदेश अध्यक्ष गोरख बोगटीले दल फुटाउन ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सशक्त प्रतिकार गर्ने निर्णय गरेको बताए । अध्यक्ष बोगटीका अनुसार प्रदेश कमिटी बैठकले विघटित भूमि आयोग पुनर्गठन गर्न पनि माग गरेको छ । गठबन्धन सरकारले ल्याएको अध्यादेशको सशक्त रूपमा विरोध गर्न पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णयसमेत भएको प्रदेश कमिटीले जनाएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले संविधान, राजनीतिक स्थिरता र संसदीय प्रणाली तथा राजनीतिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको एमालेको ठहर छ ।

शुक्रवार प्रदेश कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज यामलाल कंडेलले बैठकले एमालेका सबै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उत्पन्न परिस्थितिको एकताबद्ध भएर सामना गर्न आग्रह गरे । उनले भने, ‘अहिले पार्टी जीवनमा देखा परेका चुनौतीहरूको सामना गर्दै गोलबन्द हुनुको विकल्प छैन ।’ फुटपरस्त क्रियाकलापमा लागेर कसैको भलो नहुने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ५ भाद्र २०७८, शनिबार ०९:३५