सहिद स्मृति ग्रन्थ विमोचन

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान आहुती दिने चार जना सहिदमध्येका एक यामबहादुर विसीको सम्झनामा लेखिएको ‘याम विसी स्मृति ग्रन्थ’ विमोचन गरिएको छ । शुक्रवार सहिद दिवसको अवसरमा याम विसी स्मृति प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचन गर्दै कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले सहिदको बलिदानीलाई उच्च कदर गरिने बताइन् । यसका लागि सरकार कटिवद्ध रहेको भन्दै उनले चार जनाले दिएको बलिदानी तथा सयौं घाइते नागरिकहरूको संघर्षले कर्णाली प्रदेश स्थापना भएको स्मरण गरिन् । ‘सहिदहरूको सम्झनामा सरकारले हरेक वर्ष भदौ ४ गते सार्वजनिक बिदा दिँदै आएको छ,’ उनले भनिन् ‘सहिद पार्क निर्माण भएको छ । सहिदका परिवारका सदस्यहरूलाई रोजगारीमा जोड्ने योजना ल्याइएको छ ।’ परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा ज्यान गुमाएका सहिदहरूको विवरण संकलन गर्ने तयारीमा समेत प्रदेश सरकार रहेको उनको भनाइ थियो ।

६ वर्षअघि वि.सं. २०७२ भदौ ४ गते कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेश स्थापना भएको थियो । सोही दिनलाई प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा मनाउँदै आएको छ । यसपटक भने सरकारले कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन । प्रदेश प्राप्तिको आन्दोलनमा यामबहादुर विसी, टीकाराम गौतम, गोपालसिंह रजवार र हरिबहादुर कुँवरको ज्यान गएको थियो ।

प्रकाशित मितिः   ५ भाद्र २०७८, शनिबार ०९:३४