तीन सय ६३ संक्रमितको निधन

कर्णाली प्रदेशमा एकै दिन तीन जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । बिहीवार तीन जना संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

संक्रमित कालीकोटका दुई र हुम्लाका एक जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ६३ पुगेको छ । दोस्रो लहरको सुरूवातमा दैनिक १०–१२ जना संक्रमितको मृत्यु हुने गरेकोमा पछिल्ला दिनमा भने मृत्युदर घटेको छ ।

प्रदेशमा हालसम्म सबैभन्दा बढी सुर्खेतमा दुई सय आठ जनाको कोरोनाका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, सल्यानमा ५३, रुकुम–पश्चिममा ३४, दैलेखमा २४, जुम्लामा १७, कालीकोटमा सात, डोल्पा र हुम्लामा पाँच÷पाँच, मुगु र जाजरकोटमा तीन÷तीन तथा अन्य प्रदेशका चार जनाको मृत्यु भएको हो ।

यसैबीच, बिहीवार कर्णालीमा ८४ जना कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार दुई सय ८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ३१ हजार आठ सय ६३ पुगेको छ । तीमध्ये २९ हजार पाँच सय ४८ जना निको भएका छन् । बिहीवार साँझसम्म सक्रिय संक्रमितको संख्या आठ सय ९८ छ । कर्णालीमा अहिले कोरोना संक्रमण दर स्थिर छ । संक्रमणको जोखिम अझै उच्च रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्न चिकित्सकहरूले सुझाएका छन् ।

प्रकाशित मितिः   ४ भाद्र २०७८, शुक्रबार ०५:००