वीरेन्द्रनगरमै विकराल भूमि समस्या
वीरेन्द्रनगर–१ मा नौ सय ४० घरपरिवारको अव्यवस्थित बसोबास छ । सोही वडामा भूमिहीन र सुकुमबासी ६ सय १३ परिवार छन् । विभिन्न कारणले जमिनको स्वामित्व प्राप्त गर्न नसकेका यी परिवार असुरक्षित तरिकाले सडक छेउ, खोला किनार र ऐलानी जमिनमा बस्न बाध्य भएका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरको वडा नं. १ मा मात्रै अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुमबासी गरी एक हजार पाँच सय ५३ परिवार रहेको सरकारी तथ्याङ्क छ ।
वीरेन्द्रनगरको वडा नं. ८ मा पर्ने मिलडाँडा (सिटी बसपार्कको दक्षिण पूर्वी क्षेत्र)मा करिब ३५ घर परिवारको असुरक्षित बसोबास छ । राजमार्ग छेउमा टहरा निर्माण गरी बसेका यहाँका बासिन्दाको बसाइँ निकै जोखिमपूर्ण छ । सोही बस्तीकी गीता सुनारले आफूहरू त्यहाँ बस्न थालेको १५ वर्षभन्दा बढी भएको बताइन् । ‘आफ्नो नाममा कतै जमिन भए किन यसरी जोखिम मोलेर बसिन्थ्यो ?,’ उनी भन्छिन् । त्यो बस्ती हटाउन पटक–पटक नगरपालिकाले प्रयास नगरेको होइन । त्यहाँका बासिन्दाले आफूहरूको उचित बसोबासको प्रबन्ध नभएसम्म यो ठाउँ नछाड्ने अडान राखेपछि नगरको प्रयास सफल हुन सकेको छैन ।
नगरको वडा नं. ६ स्थित खोर्के आसपासमा पनि सयौं परिवार जोखिम मोलेर बसिरहेका छन् । यी बस्तीहरू उचित व्यवस्थापनको पर्खाइमा छन् । वर्षायाममा बाढीका कारण जनधनको क्षति हुने खतरा हुँदाहुँदै पनि खोला किनारमा बसोबास गर्नेहरूको संख्या भने हरेक वर्ष बढ्दो छ । वि.सं. २०७१ मा आएको बाढीले यी बस्तीमा ठूलो जनधनको क्षति भएको थियो । वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेल आफ्नो वडामा खोला च्यापेर बसेको बस्ती बढी जोखिममा रहेको बताउँछन् ।
‘हाम्रो वडाको हकमा खोला च्यापेर बसेको बस्ती अलि बढी छ,’ उनले भने, ‘यो समस्या समाधान गर्न निकै चुनौती छ । बनेका पक्की घरहरू भत्काएर बस्ती व्यवस्थित गर्न सहज छैन ।’
१६ वटा वडा रहेको वीरेन्द्रनगरमा १ देखि १२ नम्बरसम्म अव्यवस्थित बसोबासीहरूको समस्या धेरै छ । विशेषगरी वीरेन्द्रनगर उपत्यकाका खोर्के र इत्राम खोला आसपासमा अतिक्रमण गरी बसेका बस्ती प्राकृतिक विपद्को उच्च जोखिममा छन् । अन्य कतिपय स्थानहरूमा सरकारी जग्गा अतिक्रमण गरी बसेका बस्ती पनि छन् । ती सबैजसो बस्ती असुरक्षित छन् । नगरका सबै वडामा यस्ता समस्या जटिल बन्दै गएका छन् । वीरेन्द्रनगर नगरपालिकाले गुरुयोजना निर्माण गरी व्यवस्थित बसोबासका लागि काम थालिने बताएपनि यी बस्तीहरू चुनौती बनेका हुन् ।
वीरेन्द्रनगर–१ का वडाध्यक्ष गंगाराम सुनारले आफ्नो वडामा अव्यवस्थित बसोबासको समस्या जटिल रहेको बताए । उनका अनुसार त्यहाँ असुरक्षित रूपमा बसिरहेका अधिकांश दलित परिवार छन् । ‘हाम्रो वडामा अव्यवस्थित, सुकुमबासी र भूमिहीनहरूको संख्या अत्यधिक छ । भूमिको समस्या समाधान नगरेर सुरक्षित बसोबासको व्यवस्था गर्न सकिने अवस्था छैन । जोखमयुक्त बस्तीहरूमा बर्सेनि प्राकृतिक विपद्का घटना हुने गरेको उनले जनाए ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउने उद्देश्यले नगरपालिकाले गुरुयोजना निर्माण गरिरहेको छ । उक्त गुरुयोजनामा व्यवस्थित बसोबास, सडक मापदण्ड, कृषियोग्य जमिन, औद्योगिक लगायतका क्षेत्रहरू छुट्याइएको छ । सार्वजनिक गर्ने तयारीमा रहेको गुरुयोजना कार्यान्वयनमा भने अव्यवस्थित बसोबासीहरूको समस्या ठूलो चुनौती छ । उपत्यकाको दक्षिणी भू–भाग जो खेतीयोग्य जमिन हो, त्यहाँ पनि घना बस्ती बसिसकेको छ । नगरको यसअघिको गुरुयोजनामा खेतीयोग्य जमिन भनेर छुट्याइएको दक्षिणी भू–भागमा भइरहेको सहरीकरण नगरपालिकाले व्यवस्थित गर्न सकेको छैन । खेतीयोग्य जमिन मासेर बस्ती विकास गर्न दिइएको भन्दै वीरेन्द्रनगरबासीहरूले नगरको अहिलेको नेतृत्वको आलोचना समेत गर्ने गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अव्यवस्थित बसोबासको समस्या रहेपनि त्यसरी बसेका बस्तीहरू कुनै न कुनै रूपमा अनुमति लिएर बसेको बताए । उनले भने, ‘केही परिवार सुकुमबासी र भूमिहीन भए पनि अव्यवस्थित रूपमा बसेका धेरैजसो बस्ती अनुमति लिएर बसेका हुन् ।’ मापदण्ड विपरीत असुरक्षित बसेकालाई भने त्यस्ता स्थानबाट सुरक्षित स्थानमा सार्ने र त्यसका लागि आवश्यक पहल समेत नगरले गर्ने उनले जनाए । नगरले निर्माण गरेको गुरुयोजनाको सर्भेको काम सकिएपनि सरोकारवाला निकायसँग बृहत् छलफल गर्न भने बाँकी नै रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।
केही दिन पहिले विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिको तथ्याङ्कअनुसार वीरेन्द्रनगरमा करिब १४ हजार भूमिहीन, सुकुमबासी र अव्यस्थित परिवारको बसोबास छ । नगर क्षेत्रमा मापदण्डविपरीत सडक खोल्ने र अव्यवस्थित भौतिक संरचना निर्माण गर्नेलगायतका कारण पनि अस्तव्यस्त बन्दै गएको छ । जथाभावी जग्गा प्लटिङ, घडेरी बिक्री तथा घर निर्माणको क्रम बढ्दो छ । अव्यवस्थित बसोबास र अनियन्त्रित सहरीकरणले वीरेन्द्रनगर कुरूप बनेको छ । तीव्र सहरीकरण भइरहेको वीरेन्द्रनगरलाई व्यवस्थित बसोबासका रूपमा विकास गर्न ठूलो चुनौती रहेको जानकारहरू बताउँछन् ।
प्रकाशित मितिः ४ भाद्र २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।