औद्योगिक विकासका चुनौती

ओद्योगिक विकास नभइ आर्थिक समृद्धिको सपना पूरा हुँदैन । कर्णाली प्रदेशको आर्थिक अवस्था कमजोर हुनुको मूल कारण पनि यही हो । प्रदेश औद्योगिकीकरणमा कमजोर छ । कतिसम्म भने प्रदेशभर अहिलेसम्म एउटै पनि ठूलो लगानीको उद्योग छैन । साना मात्रै छन् । थोरै पुँजी लगानी गरिएका यस्ता उद्योगले रोजगारीका पर्याप्त अवसर भने सिर्जना गर्न सकेका छैनन् । मझौला र ठूला उद्योग यहाँ दर्ता भएका छैनन् । ठूलो मात्रामा आर्थिक कारोबार गर्ने र ठूलो संख्यामा रोजगारीका अवसर समेत सिर्जना गर्ने उद्योग नै नहुँदा प्रदेशको अर्थतन्त्र परनिर्भर छ । कर्णालीमा ठूला उद्योग नहुनु नै यहाँको समग्र विकासमा पछि पर्नुको प्रमुख कारण हो भन्दा फरक पर्दैन ।

कर्णालीमा औद्योगिक विकासको सम्भावना नै नभएको भने होइन । यहाँ पर्याप्त सम्भावना छन् । जल, जमिन, जडिबुटीदेखि जंगलसम्ममा ठूलो लगानी गरेर आम्दानी लिन सकिने सम्भावना छन् । तर लगानी हुन भने सकेको छैन । न सरकारले लगानी गर्न सकेको छ न त निजी क्षेत्र नै आकर्षित हुन सकेको छ । यो सरकारको कमजोरी हो । आफूले लगानी गर्न नसक्ने र लगानी भिœयाउन पनि ठोस नबनाउने सरकारी कमजोरीकै कारण औद्योगिक विकासमा प्रदेश पछि परेको हो । प्रदेश सरकार गठन भइसकेपछि लगानी भिœयाउने योजना नै नबनेको पनि होइन । तर त्यस्ता योजना कागजमै सीमित हुने गरेका छन् । सरकारले विगत तीन वर्षदेखि लगातार लगानी सम्मेलन आयोजना गर्ने निर्णय ग¥यो । सम्मेलन आयोजनाका लागि बजेटसमेत विनियोजन भयो । तर आयोजना गर्न भने असमर्थ रह्यो । चालु आर्थिक वर्षको बजेट र योजनामा पनि लगानी सम्मेलन आयोजना गर्ने योजना समेटिएको छ । लगानी सम्मेलनको मुख्य उद्देश्य बाह्य लगानी भिœयाउनु हो । जुन कर्णालीको विकासमा अपरिहार्य छ । विकासमा पछि परेको प्रदेशमा ठूलो लगानी भिœयाउन जरुरी छ । यसका लागि लगानी सम्मेलन गरी लगानीकर्ता भिœयाउनु उपयुक्त विकल्प हुन सक्दछ । कर्णालीमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि इच्छुक देखिएका छन् । यहाँको कृषि, जडिबुटी, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिने सम्भावना रहेको छ । विभिन्न समयमा विभिन्न देशका लगानीकर्ता कम्पनीहरूले पनि कर्णालीको अध्ययन अवलोकन गरिसकेका छन् । तर तिनलाई लगानी गर्ने वातावरण सिर्जना गर्न राज्य चुकिरहेको छ ।

लगानी क्षेत्र कर्णालीमा प्रशस्त छन् । यदि बाह्य लगानी ल्याउन सक्ने हो भने कर्णाली प्रदेशको मात्र नभएर समग्र मुलुककै विकासमा ठूलो सघाउ पुग्न सक्दछ । जलविद्युत, पर्यटन, कृषि र जडिबुटीमा हुने लगानी प्रदेशको मात्र हुँदैन । ठूलो उद्योगहरू सञ्चालनतर्फ पनि लगानी गर्न सके त्यसले यहाँको अर्थतन्त्रको विकास गर्नेछ । औद्योगिक विकासले रोजगारीका अवसर सिर्जना गर्दछ । रोजगारी पाए नागरिकहरूको आर्थिक अवस्था सुधार हुन्छ । उनीहरूको जीवनस्तरमा सुधार आउँछ । नागरिकहरूले चाहेको पनि यही हो ।

प्रकाशित मितिः   २ भाद्र २०७८, बुधबार ०५:०३