मालपोतका सेवा दुई साता बन्द

मालपोत कार्यालय सुर्खेतले अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा ‐आज) भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको हो । कार्यालयले मंगलवार सूचना जारी गरी कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । यो अवधिमा विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने जारी सूचनामा उल्लेख छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेरै सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि केही दिन सेवा प्रवाह बन्द गर्नुपरेको कार्यालयले जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति मालपोत कार्यालय सुर्खेतले क्षमाप्रार्थी रहेको बताएको छ । सधैंजसो सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा कोरोना जोखिम कायमै रहेका बेला पनि उस्तै भिड लाग्ने गरेको थियो ।

प्रकाशित मितिः   २ भाद्र २०७८, बुधबार ०५:०१