एक सय १५ जनामा संक्रमण

कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेकालाई वीरेन्द्रनगरमा आज र भोलि अस्ट्राजेनिका खोप दिइँदै

कर्णाली प्रदेशमा थप एक सय १५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिवार गरिएको आरटी–पीसीआर विधिबाट ७० र रेपिड–एन्टिजेन परीक्षणमा ४५ जनामा संक्रमण फेला परेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा सक्रिय संक्रमितको संख्या नौ सय ७७ पुगेको छ । हालसम्म प्रदेशमा ३१ हजार चार सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या तीन सय ५८ पुगेको छ । शनिवार ८५ जना संक्रमणमुक्त भएका छन् । योसहित निको हुनेको कुल संख्या २९ हजार एक सय सात पुगेको छ ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले कोभिशिल्डको दोस्रो मात्रा अस्ट्राजेनिका लगाउन छुटेका ज्येष्ठ नागरिकलाई खोप दिने भएको छ । वीरेन्द्रनगर अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूबाट यही साउन २८ र २९ गते कोभिशिल्डको दोस्रो मात्रा खोप लगाउन छुटेका व्यक्तिहरूलाई ३१ र ३२ गते अर्थात् आज र भोलि खोप लगाइने भएको हो । नगरको वडा नं. ३ स्थित वडा कार्यालय, आधारभूत स्वास्थ्य सेवा केन्द्र नौलापुर, वडा नं. ७ को कार्यालयमा खोप लगाइने नगरपालिकाले जनाएको छ । आफूलाई पायक पर्ने नजिकको केन्द्रमा गइ खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ । कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेकालाई अहिले अस्ट्राजेनिका खोप लगाउने गरिएको छ ।

प्रकाशित मितिः   ३० श्रावण २०७८, शनिबार २१:३२