मटेला झोलुङ्गे पुलको कथा

अन्य राणा प्रधानमन्त्रीहरूले जसरी चन्द्रशमशेरले धेरै विवाह गरेनन् । केवल १५ वर्षको उमेरमा उनले लोकभक्त लक्ष्मीदेवीसँग विवाह गरेका थिए । वि.सं. १९६१ माघ ३० गते लक्ष्मीदेवीको देहान्त भएपछि वि.सं. १९६२ मा बालकुमारीसँग विवाह गरेका थिए ।

बालकुमारीसँग विवाह गर्दा उनी बनारसमा बस्दथे । तर उनको माइती गाउँ जाजरकोट थियो । बालकुमारी जाजरकोटी राजा जङ्गबहादुर शाहकी नातिनी थिइन् ।

जाजरकोट दरवार पुग्न भेरी नदी तर्नुपर्ने बाध्यता थियो । वर्षात्मा भेरीलाई डुङ्गाबाट पनि तर्न समस्या हुन्थ्यो । गाउँलेको लागि त अझ कठिन थियो ।

त्यो समयमा प्रधानमन्त्री चन्द्रशमशेरले देशैभर अति आवश्यक ठाउँमा आधुनिक पक्की झोलुङ्गे पुलहरू निर्माण गर्न थालेका थिए । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुङ्गे पुल निर्माणको लागि पनि अहिलेको झैं माथिल्लो निकायसम्म पहुँच हुनुपथ्र्यो । अन्यथा दुर्गम स्थानहरूमा पुलको आवश्यकता रहेको थाहा नै हुँदैनथ्यो ।

जाजरकोटको भेरी नदीमा पुल बनाउको लागि बालकुमारीले चन्द्रशमशेरसँग आग्रह गरिन् । तत्कालै चन्द्रशमशेरले इञ्जिनियर कुमारनरसिंह राणालाई पुलको डिजाइन गर्न लगाए । पुलका सामग्रीहरूको लागि सम्पूर्ण जिम्मा बेलायतको स्कटल्याण्डमा रहेको जोन एम हेन्डरसन कम्पनीलाई नै दिइएको थियो ।

चन्द्रशमशेरको अगुवाइमा वि.सं. १९५४ देखि नेपालमा झोलुङ्गे पुल राख्ने अभियान नै चलाइएको थियो । यी झोलुङ्गे पुलहरू केवल काठमाडौंको लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरूमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरू नजिकैका खोलाहरूमा पनि झोलुङ्गे पुलहरू बनाइएका थिए । झोलुङ्गे पुलको लागि आवश्यक फलामे सामानहरूको लागि नजिकैको भारत होइन, यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । भौगोलिक रूपले भनौ भने सात हजार किलोमिटरभन्दा टाढा थियो । तर त्यहाँदेखि आजभन्दा एक सय १८ वर्ष अगाडि फलामे सामग्रीहरू ल्याएर नेपालमा झोलुङ्गे पुलहरू बनाइएका थिए । बरु अहिलेका दलिय नेताहरूमा त्यतिको सोच भेटिँदैन ।

नेपालमा पहिलो झोलुङ्गे पुल वि.सं. १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाइएको थियो । त्यसबेला झोलुङ्गे पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो । यस कम्पनीले वि.सं. १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा सात वटा आधुनिक झोलुङ्गे पुलको निर्माण गरेको थियो ।

विभिन्न कारणले लुइस हार्पर एण्ड कम्पनीले वि.सं. १९६७ पछि झोलुङ्गे पुलको निर्माण सामग्री बनाउन बन्द ग¥यो । तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुङ्गे पुल निर्माणको जिम्मा दिइएको थियो । यस कम्पनीले भने नेपालमा सयभन्दा बढी झोलुङ्गे पुल बनाएको थियो ।

जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आबश्यक फलामका लट्ठा तथा केबलहरू तयार गर्ने कम्पनी थियो । उक्त कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इञ्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यी इञ्जिनियरले सन् १८६६ मा आफ्नै कम्पनी खोलेर विभिन्न निर्माण सामग्रीहरू तयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरू तयार गर्न थालेका उनले १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि सुरु गरेका थिए ।

जोन एम हेन्डरसनले नेपालमा पहिलो झोलुङ्गे पुल सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदीमाथि खुर्कोटमा बनाएको थियो, वि.सं. १९६४ मा । यसरी झोलुङ्गे पुल बनाउने जिम्मा पाएको जोन एम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदीमाथि झोलुङ्गे पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमारनरसिंह राणालाई जिम्मा दिइए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरू नै आएका थिए ।
झोलुङ्गे पुलका लागि आवश्यक सामग्रीहरू स्कटल्याण्डदेखि कलकत्तासम्म पानी जहाजमा ल्याइएको थियो भने कलकत्तादेखि भारतीय सहर बहराइचसम्म रेलमा ल्याइएको थियो । बहराइचबाट भारतीय सीमा कोइलावाससम्म भारतीय मजदूरहरूले बोकेर ल्याएका थिए । कोइलावासबाट मटेलासम्म भने हात्ती तथा जाजरकोटे जनताहरूले बोकेर पुर्‍याए ।

सम्पूर्ण सामग्री ढुवानी गर्न स्थानीय जनता र २० वटा हात्तीलाई झन्डै दुइ महिना लागेको थियो । सयौ स्थानीय जनताले दुई छाक खाना मात्र खाएर निःशुल्क पुल निर्माणमा श्रमदान गरेका थिए ।

९० मीटर लामो यो पुल वि.सं. १९८२ मा तयार भएको थियो । पुल तयार भएपछि जनताहरू धेरै खुसी भए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको जयजयकार गरे । उक्त पुल अहिले पनि छ ।

मटेलाको पुल नामले अहिले पनि प्रख्यात यो झोलुङ्गे पुल हाल भने जीर्ण हुन थालेको छ । हाल भेरी नगरपालिका वडा नं. ११ मा रहेको यस पुलको समयमा नै संरक्षण तथा पूनर्निर्माणमा ध्यान नदिने हो भने मटेलाको पुल पनि इतिहासमा नै हराउन सक्नेछ ।

मटेलाको पुल निर्माणको समयमा नै खलङ्गावासीलाई पिउने पानीको पनि समस्या रहेको अवगत गराएपछि चन्द्रशमशेरले खलङ्गामा १० वटा कलधारा पनि निर्माण गराएका थिए । बुदबुदीमा पानीको ट्याङ्की निर्माण गराइ खलङ्गा बजारमा वि.सं. १९८४ मा पानी आपूर्तिको व्यवस्था गरिएको थियो । जाजरकोट दरवारमा एक, चन्द्रशम्शेरको ससुराली हरिविक्रम शाहको घरमा एक, ठाँटीबजारमा एक तथा अन्य सर्वसाधारण जनताका लागि ६ वटा सार्वजनिक कलधारा जडान गरिएको थियो ।

प्रकाशित मितिः   ३० श्रावण २०७८, शनिबार ०५:०२