सम्झनाको गर्तमा ‘सती कलसा’

कसैको सरल बानी, व्यवहार, शैली र उत्कृष्ट विचारले प्रभाव पारेर मन पल्लवित भएझैं कुनै घटना, परिघटनाका दृश्यलाई कैद गरिएका कतिपय तस्बिरले पनि कहिलेकाहीँ चित्त हरण गर्दा रहेछन् । स्वतः निर्मित भावनात्मक सम्बन्धले हृदय हर्ष–विभोर हुँदो रहेछ ।

एउटा वृक्षमुनि चौतारीको बिसौनीमा अधिकांश ध्वाँसाले राङ्सिएका डोकामा टनाटन माथिसम्म अटाएका भारी बिसाएर हटारूहरू सुस्ताएको आकर्षक तस्बिर सामाजिक सञ्जालमा भेटियो । परम्परागत भेषभूषाका ती हटारू आपसमा कोही बात मारिरहेका, कोही सुल्पा तान्नमा मस्त रहेका दृश्य चित्रण छ । त्यही चित्रणले मलाई, करिब चौध वर्ष पहिला हामीले प्रस्तुत गरेको नाटक ‘सती कलसा’ को मीठो झल्को दिएर सम्झना ताजा बनाइदियो ।

नाटक ‘सती कलसा’ले सय वर्षभन्दा अगाडिको जनजीवन र समय–परिवेशतिर डो¥याउँछ । जतिखेर समाजमा श्रीमान्को लाससँग जिउँदै श्रीमतीलाई जबरजस्ती जलाएर सती बनाउने कठोर यातना संस्कारका रूपमा कायम थियो । हाम्रा पाँच पुस्ता अगाडिका कतिपय बज्यैहरूले भोग्दै भस्म खरानी भएका बर्बर आर्तनादका ती कठिन दिनहरू अहिलेको पुस्ताले सजिलै विश्वास गर्न सक्दैन ।

सुर्खेतको सिम्तादरातिर प्रचलित, लोकगाथा धमारीमा आधारित नाटक ‘सती कलसा’लाई यथारूपमा प्रदर्शन गर्नु रंगकर्मीहरूलाई अत्यन्त चुनौतीपूर्ण थियो । सती प्रथाको एउटा दर्दनाक घटनालाई दृश्यमा रूपान्तरण गर्नु थियो । त्यस्ता कतिपय असम्भव दृश्यलाई प्रकाशमा छायाको गतिविधि देखाएर पात्रको संवादबाट दर्शकमाझ सविस्तार बुझाउनु थियो । केही दृश्य साङ्गतिक पनि थिए, गीति नाटकको छनक जस्तै । साङ्गतिक दृश्यमा, भाव र रसमा डुबेर मञ्चमा अभिनयरत पात्रको गतिविधि र नेपथ्यबाट बजाइने गीत–संगीतलाई एउटै लिकमा लैजानु पनि कठिन कार्य नै थियो । योभन्दा अगाडि यसरी अभिनयको गतिविधि र संगीतको तालमेल वा प्रविधिलाई संयोजन गरेर हाम्रो यो पश्चिम क्षेत्रबाट प्रस्तुत गरिएका नाटकहरू मेरो जानकारीमा कुनै छैनन् ।

रंगकर्मका पारङ्गत रंगकर्मी हुँदाहुँदै पनि नाटक पूर्वाभ्यासका क्रममा तमाम पापड बेल्नु परिरहेको थियो । ऐतिहासिक पक्ष र भाषिकालाई पनि ध्यान दिनुपर्ने हुँदा कोही पात्रलाई मनोगत संवाद बोल्न र अभिनय गर्न अन्य नाटकमाजस्तो छुट थिएन । दर्शकका अगाडि रंगमञ्चमा चिता बनाएर आगो लगाउन कसरी सम्भावना होला ! प्रविधिको मात्र पूर्ण भरोसाले अभिनयको चरम उत्कर्षमा जानेर–नजानेर केही गल्ती अथवा कुनै गडबड भयो भने सारा मेहनतमा पानी परेर इज्जत बगाइदिने सम्भावना पनि उत्तिकै थियोे । पूर्वाभ्यास सँगसँगै जिम्मेवार रंगकर्मीहरू ज्यादा त्यसैमा केन्द्रित हुनु परिरहेको थियोे । अरु नाटकमा झैं यसमा पनि पूर्वाभ्यासको समय र दिनहरू पर्याप्त रहेनन्, छोटा–साँघुरा नै भए । ऐतिहासिक नाटक लिएर आफ्नो रंगकर्मलाई कसी लगाउन, क्षमता देखाउन र परिणाममुखी बनाउन हामी रमाना भयौं काठमाडौं, त्यतिबेला निकै चर्चा आर्जन गरेको नाट्य संस्था गुरुकुलको रंगमञ्चलाई ताकेर ।

हामीले घोचा घारा, दाउरा, डोका नाम्ला लगायतका सरसामान सबै आफ्नैतिरबाट बोकी लगेका थियौं । कतै किला ठोकेर, कतै तारले बाँधेर मजबुत चिता बनाएका थियौं, ताकी चिताले मान्छे धान्ने मात्रै होइन छट्पटाहट्मा बल प्रयोग हुँदा समेत आफ्नो धर्म थामी रहोस् । आगो र हतियार रंगमञ्चमा सितिमिति अनुमति हुँदैन । तर हामीलाई चितामा आगो झोसेको आभास दिन मसालमा आगो बोकेर चिता परिक्रमा गर्नु पनि अनिवार्य थियो ।

रंगमञ्चको व्यवस्थापन र अरु प्राविधिक कारणले त्यति धेरै डोका र हटारूहरू अटाउन सम्भव थिएन तथापि दिन खोजिएको सन्देश आभासमा पर्याप्त थियो । सामाजिक सञ्जालको त्यो तस्बिरमा सुल्पा तान्दै गरेको पात्र नाटकीय रूपमा म स्वयम् प्रस्तुत हुनु परेको थियो । सुस्ताएका बेला गफगाफसँग तमाखु सकेर मादल, मुरली र मुजुराको तालमा पन्थे नाच हुन्छ । पहिलो पटक हाट जाने नौलो हटारूलाई पन्थे भनिन्छ र पन्थेमाथि हटारूहरूले हाँसो, ठट्टा र रामरमाइलो गर्ने परम्परागत चलन हुन्छ ।

हाट जाउँला बास बसौँला तिहुन खाउँला लौकी

रामथलो रमाइलो पार्ने कोही मायालु छौकी…।

मेरो नाचोलाई ठेट सिम्ताली झैं पार्न, प्रभावकारी र नाटकीय बनाउन ठूलो मेहनत र लगानी थियो बागीना समूह तथा आरंग नेपालका सर्वश्रेष्ठ रंगकर्मी दाजु प्रेमदेव गिरीको ।

बहिनी भेट्न जानुपर्ने कारणले मेरो बाटो अब यही देउरालीबाट छुटिन्थ्यो । बिदाबारी भएर आफन्त हटारूहरू बाटो लागेपछि बहिनीलाई दिनुपर्ने कोसेली (गुन्यो, चोलो, चुरा, पोते) डोकाबाट झिकेर छुट्याउँन थालेँ । एक्कासी उल्टो बजेको शंखले झस्कायो, मनमा गहिरो शंका पनि पस्यो । तस्बिरमा हटारूको पछाडि एउटा खोला देखिन्छ, सायद कल्पनाको त्यही खोलामा मान्छेहरूले हात–हातमा लामैलामो सेतो काँचो कपडाको बाटो लिएर आए । अचम्म, उनीहरूले एउटा सजाएको डोली पनि बोकी ल्याएका थिए । अपरिचित एउटा मलामीसँग मृतकका बारेमा सोधिखोजी गरेँ । संग्राम सिंहका भाइ हिमाल सिंह भेरीमा बगेर बेपत्ता भएका र व्यापक खोजी गर्दा समेत नभेटिएकाले विधि बमोजिम काँस कुसको लास बनाई अन्तिम संस्कार गर्न ल्याएको भन्ने भनाइले मलाई हतास र मर्माहत बनायो । विश्वास नलागेर यकिन गर्न बिसाइ राखेको डोलीमा घुम्टो खोली हेर्दा म छाँगाबाट खसे झैं भएँ, किन कि जसलाई भेट्न मैले बाटो फेर्दै थिएँ, मेरी सहोदर बहिनी कलसा नै मौजुद थिइ । दाजु–बहिनी अङ्गालो मारेर अलाप–विलाप गर्दै बेस्सरी रोयौं । कलसाको भूमिकामा थिइन् प्यारी छोरी सुनिता रोकाय । मेरी बहिनीमाथि यस्तो घोर अमानवीय अत्याचार नगर्न मलामीसँग अनुनय–विनय गरेँ, गिडगिडाएँ । तर मेरो बिलौना कसैले सुनेनन्, बरु बहिनीलाई चितामाथि बसाले घोचाले अँचेटे र आगो लगाए । चिरिर चिच्याएँ, मलाई समाइ जकडेका बलिस्ठ पापी मलामीहरूबाट फुत्कन प्रयत्न गरेँ । त्यसैबेला मलाई मुर्छा आयो ।

भर्खर अगाडि देउरालीमा उफ्री–उफ्री सल्यानी टप्पा नाचेर रमाइलो गरेको रसिक मान्छेलाई एकैछिन पछि भयानक पीडा दिएर वेदनाको पोखरीमा चुर्लुम्म डुबाइ त्यसरी मुर्छा पार्ने निर्दयी काम भएको थियो, सति कलसाका लेखक तथा निर्देशक गणेशभक्त गौतमबाट । नाटकले दर्शकको मन चिरेर विदिर्ण बनाएको थियो । दर्शकलाई निरन्तर खिचरहनु, एकछिन पनि पट्याइलोको फुर्सदै नदिनु, विषयको गाम्भिर्यता र यथार्थ अभिनयले भावको गहिराइमा डुबाइदिनु रंगकर्मको धर्म हो । त्यही धर्मले झार्छ ओभाना आँखाहरूबाट अश्रुधारा । फुत्काइदिन्छ मौन ओंठहरूबाट हाँसोका आजाद फोहरा । दर्शकका आँसु र हाँसो हाम्रो अमूल्य सम्पत्ति हुन । नाटकलाई सफलीभूत पारिदिन त्यही आँसु र हाँसोबाट त दर्शकले माया जताएका हुन्छन् । सम्झी ल्याउँदा आँसु र हाँसोको संगम नै त जीवन रहेछ । जीवन नै एउटा रंगमञ्च हो, भनेर विद्वानले त्यसै भनेका पनि होइन रहेछन् ।

रंगकर्मका अग्रणी पुरुष प्रेमदेव गिरीको अभिनय रहने विषयले नाटकलाई सुरुवाती महत्व दिइरहेको थियो । सुर्खेती माटोका पारंगत पात्रहरू यामनारायण आचार्य, प्रकाश पौडेल, सुशीला बस्नेत, गणेश बस्नेत, प्रेम खड्का, ज्ञानवहादुर नेपाली, प्रकाश लामिछाने, मोहन आचार्य, हरि ढकाल, सविता कोइराला, देवराज गिरी, शिव संगीत लगायतका कलाकारहरूको अभिनयले ‘सती कलसा’लाई उचालीरहेको थियो । सुर्खेती रंगकर्मीहरूको प्रायःजसो साझा कमजोरी, अत्यन्त मेहनत र लगनबाट पूर्वाभ्यास गरिएको नाटकलाई एक पटकको प्रदर्शनमा समाप्त पारिन्छ । यो नाटकलाई एउटै मात्र प्रदर्शनमा समाप्त नपार्ने अठोट थियो । त्यसैले अर्को प्रदर्शन प्रज्ञा भवन कमादी काठमाडौंमा, भेरी अञ्चलका दैलेख सुर्खेत र बाँके जिल्लामा देखाउँदै दर्शकको माया कमाउन सफल भैरहेका थियौं ।

तस्बिर स्थिर छ, त्यही स्थिरतामा मनका भावनाहरू छ्यालब्याल भएर बगे । बग्दै–बग्दै मेरो मानसको नाट्य सम्झनामा मिसिन आए । कलिलै उमेरदेखि मनमा नाटकको अगाध स्नेह छ । त्यही स्नेहको धागोमा उनीएको छ रंगकर्मीहरूसँगको पवित्र सम्बन्ध । सबैलाई थाहा छ साहित्य फाँटमा नाटकको महŒव गहन र विशेष हुन्छ, किनभने यो विषय लेखिएर वा पुस्तकका रूपमा प्रकाशित भएर मात्र पूर्णता मानिदैन । नाटकले मञ्च खोज्छ पात्रको अभिनय माग्छ र दर्शकमा जान्छ तब मात्र पूरा भएको ठहर्छ । विडम्बना, हाम्रा बारेमा सरकारलाई सायद सोच्ने फुर्सद छैन । रंगमञ्चसमेतको अनुकूल हुने गरि नगरमा एउटा सभाहल निर्माण भैदिएको भए कतै त तिर्खा मेट्ने ठाउँ छ भनेर थोरै चित्त बुझाउन सकिने थियो । सर्वथा प्रतिकुल रहने समय परिस्थितिका बाबजुद पनि बागीना समूह, आरंग नेपाल लगायत अन्य संस्थाका सहृदयी रंगकर्मीले स्वस्फूर्त रूपमा नाटकीय गतिविधि निर्धक्क धानिरहेका छन । जय नाट्यश्वरी !


उमालाल आचार्य

प्रकाशित मितिः   ३० श्रावण २०७८, शनिबार ०५:०३