खुसी खोसिएको दिन

त्यो दिन निरन्तर झरी परिरहेको थियो । वर्षातको झरी पार्वतीका लागि नौलो कुरै थिएन । केही समय पर्ला, फाट्ला । उनलाई यस्तै लाग्यो । तर त्यही झरी आफ्नो जीवनकै ठूलो बज्रपात बन्ला भन्ने उनले कल्पनासम्म पनि गरेकी थिइनन् ।

ऐलानी जमिनमै भए पनि ६ जनाको परिवारले खुसीसाथ जीवन गुजारेको थियो । दिनभरी काम गरेर बेलुकीको गर्जो टारेकै थिए । त्यसो त पार्वतीका महŒवाकांक्षी सपनाहरू पनि थिएनन्, साँझ–बिहान सन्तोषले खान पाए पुग्थ्यो, सन्ततीलाई सुरक्षित राख्ने सके हुन्थ्यो । तर जे नहुनु थियो, त्यही भयो । अघिल्लो दिनदेखि एकोहोरो वर्षिएको झरी उनको खुसी खोस्न पो आएको रहेछ !

२०७१ साल साउन २८ गते राती । करिब ११/१२ बजे बजेको हुँदो हो । एक्कासी बाढी आयो, बाढी गाउँ पस्यो अनि पार्वतीको खुसी खोस्यो । बगाएर लग्यो, भेलसँगै ।

साविकको हरिहरपुर–५ सिस्नेरीकी पार्वती कामीले जीवनमा कल्पना नै नगरेको दुःख भोग्नुपर्‍यो । लगातार परेको पानीका कारण बहवा बढेको भेरी नदी तलबाट मास्तिर उक्लियो र माथिबाट सिस्नेरी खोला तलतिर उर्लियो । छिनभरमै विपत्तिले गाँज्यो ।

जति धेरै पानी परे पनि त्यसरी गाउँ नै डुबानमा कहिल्यै परेको थिएन । बुढा–पुरानाहरू पनि सिस्नेरी गाउँ नै डुबानमा पर्दा हैरान थिए । प्राकृतिक विपत्तिलाई कसले रोक्न सक्थ्यो र ! विपत्ति आएरै छाड्यो ।

गाउँमा होहल्ला भएपछि सबै उठेर भाग्न थाले । विपत्मा ज्यान जोगाउनु नै ठूलो थियो । कोही भागे, कोही बाढीमै बगे ।

पार्वतीको ६ जनाको परिवार ६ तिर भयो । तीन भाइ छोराहरू काकाहरूसँग गएर जोगिछन् । अलि–अलि पौडी खेल्न पनि जानेका उनीहरूले काकाको साहारामा ज्यान जोगाए । आमा–बुवालाई कुरेकी पार्वतीकी आठ वर्षकी छोरीलाई बाढीले बगायो । लास पनि भेटिएन उनको ।

बगेकी छोरीलाई उद्धार गर्न न पार्वतीले सकिन् न त उनका श्रीमान्ले नै । उनीहरू आफै दुई तिरबाट आएको बाढीको भुमरीमा फसे । करिब दुई घण्टासम्म बाढीमा परेका पार्वतीका दम्पती पनि एकै ठाउँ भएनन् ।

दुवैलाई पौडिन आउँदैनथ्यो । धन्न पार्वतीलाई खोलाले बगाउँदै घरछेउकै किमुको रूखनिर पु¥याएछ । उनले त्यही रूख समातेर ज्यान जोगाइन् । करिब दुई घण्टा बाढीमा फसेकी पार्वतीले किमुको रूख भेटाएपछि भने ज्यान जोगिएको सुनाइन् । त्यसपछि चार घण्टा उनले किमुको रूखमा बिताइन् । उज्यालो भएपछि छिमेकीहरूले उनको उद्धार गरे । उनका श्रीमान्ले पनि जसोतसो बाढीसँग संघर्ष गरेर ज्यान जोगाएछन् ।

पार्वती र उनको श्रीमान्ले त ज्यान जोगाए तर आठ वर्षीया छोरीसँगै ७० वर्षकी सासु र चार वर्षका भान्जालाई भने सधैँका लागि गुमाए । विपत्मा अर्को विपत् । पार्वतीलाई त्यो दिन सम्झेरै भक्कानो फुट्छ । अघिल्लो दिन सँगै हाँसीखुसी बसेको उनको परिवारलाई साउन २८ गते रातीको बाढीले कहिल्यै नभेटिने गरी बिछोड बनायो ।

एकातिर बाढीले घरबास बगायो, सुकुमबासी बनायो । अर्कोतर्फ छोरीसहित आफन्त गुमाउँदाको पीडा छातिभरी छ, जो कहिल्यै नपुरिने घाउ बनेर बसेको छ ।

अहिले पार्वतीको परिवार बराहताल–२ गिरिघाटस्थित बाढीपीडितहरूको अस्थायी बस्तीमा बसिरहेको छ । यहाँ बस्न थालेको पनि सात वर्ष पुग्यो । दुखजिलो गरेरै दुई छाक टारिरहेका छन् । तर कहिले आफ्नो घर हुन्छ र सन्तोषको स्वास फेर्न पाइन्छ त्यसको भने कुनै टुङ्गो छैन । उनले अहिले चिन्ता यसैको छ ।

पार्वती ५५ वर्षकी भइन् तर पालमुनीको चिसोमा उनको बुढ्यौली जीवन बितिरहेको छ । घरजमिन सबै बगर भएपछि ओत लाग्न गिरीघाट आएको उनको परिवारले पाल फेर्न सकेको छैन । चुहिने पालकै भरमा बसिरहेका छन् ।

सातवर्षसम्म पालमुनी बस्दासमेत पार्वतीको परिवारले कतैबाट सहयोग पाएको छैन । कर्णाली प्रदेश सरकारले घर निर्माणका लागि दिने भनेको तीन लाख ५० हजारसमेत उनले पाएकी छैनन् । पहिलो किस्तावापत् ५० हजार प्राप्त गरेपनि लालपुर्जा देखाउन नसकेका कारण दोस्रो किस्ता पाउन नसकेको उनले दुखेसो पोखिन् । ‘५० हजार लिएर कहाँ जग्गा किन्नु र सरकारलाई लालपुर्जा देखाउनु ?’ उनी प्रश्न गर्छिन् ।

पहिले पनि ऐलानी जमिनमै दुखेसो काटेको उनको परिवार अहिले जंगल छेउमा पालमुनी बस्दै आएको छ । दुई छाक टार्नकै लागि उनका दुई छोरा र श्रीमान् भारत गएका छन् । छोरा बुहारी, नाती र उनी पालमुनीको चिसोमा दिन गुजार्न बाध्य भएका हुन् । ‘बाढी आउँदा ठूलो संघर्ष गरेर बाँचे’ उनले थपिन् ‘बाँचेर पनि अहिले मरेजस्तै भएको छ ।’ सडकमा हिँड्नेहरूको अपहेलना, सरकारले दिएको आश्वासन र पालमुनीको चिसोले उनको मन बरालिन्छ ।

सरकारले चाँडै पुनस्र्थापना गर्ने र घर बनाइदिने आश्वासन दियो । तर ५० हजार दिएर जग्गा खोज अनि मात्रै थप रकम दिन्छौं भनेर गयो । तर ५० हजारमा घर बनाउन पुग्ने जग्गा कहाँ पाउने ? अहिले पार्वतीको परिवार घरको न घाटकोजस्तै भएको छ । चुनावको समयमा भोट माग्न नेताहरूले त्यही लालपुर्जाको आश्वासन दिन्छन् । सरकारमा पुगेपछि फर्केर पनि हेर्दैनन् । विपद्बाट बाँचेपनि सरकारले सुखसँग बाँच्न नदिएको दुखेसो उनले पोखिन् ।

विद्यालयसमेत टाढा भएकोले उनका छोराहरूले पढ्न पाएनन् । छोराहरूलाई सुविधासम्पन्न ठाउँमा लगेर पढाउन उनको आर्थिक अवस्थाले धान्दैन । अहिले पार्वतीका छोराहरू कालापाहाड गएर जीवन गुजारा गर्न बाध्य छन् । निर्वाचित जनप्रतिनिधीको पाँच वर्षे कार्यकाल सकिएकोमा उनी खुसी व्यक्त गर्छिन् । किनभने अहिले बाढीपीडितहरूले कसैलाई पनि भोट नदिने योजना बनाएका छन् । सबैले बनाएको योजनामा उनी पनि सहमत छन् तर उक्त सहमती कार्यान्वयन नहुने होकी भन्ने कुरामा भने पार्वतीलाई चिन्ता छ । भोटका आशमा नोट गन्नेहरूका पछाडि लागेर कसैले विश्वास घात गर्छन् कि भन्ने कुरामा भने उनलाई शंका छ ।

बस्तीका बालबालिकाहरू दुषित पानी र चिसोका कारण असुरक्षित भएको उनी बताउँछिन् । शिक्षा, स्वास्थ्य, खानेपानी लगायत कुनैपनि कुरामा सरकारको उपस्थिति नदेख्दा पार्वतीलाई उदेक लागेर आउँछ । तर के गर्नु, बाढीमा फसेर पुनर्जन्म पाएकी पार्वतीलाई बाँच्नु त छँदैछ ।

प्रकाशित मितिः   ३० श्रावण २०७८, शनिबार ०५:०५