२ सय ५ राउन्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

जाजरकोटमा सरकारी गाडीमा दुई सय पाँच राउन्ड गोली फेला परेको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा १ झ १००५ नम्बरको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट दुई सय पाँच राउन्ड गोली मंगलबार छेडाबाट प्रहरीले बरामद गरेको हो ।

छेडा प्रहरीले चेकजाँचका क्रममा थलहबजारबाट फर्कदै गरेको सरकारी गाडीमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ । मिलनसहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

झाप्रास्थित एक विद्यालयको कामको शिलशिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत ब्यक्तिहरु टेकबहादुर थापा र भक्त बहादुर मल्ललाई दशेराको थलहबजार लिएर गएको कार्यालयको गाडी फर्कने क्रममा उनीहरु लिफ्ट मागेर चढेका थिए । एम सिक्सटिन अथवा इन्सास राइफलको गोली हुन सक्ने प्रहरीले जनाएको छ ।

मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली कहाँ र किन लग्न लागिएको हो भन्नेबारे केही खुलेको छैन । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याइएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ ।