पर्यटन प्रवर्द्धन गर्न सुर्खेत–रारा ‘टूर प्याकेज’

rara

सरकारले २०७३ साललाई घुमफिर वर्षको रूपमा मनाइरहँदा सुर्खेत उद्योग वाणिज्य संघले पर्यटन प्रवद्र्धनका लागि सुर्खेत–रारा ‘टूर प्याकेज’ सार्वजनिक गरेको छ । संघको आयोजनामा सुर्खेतमा सञ्चालन हुने कर्णाली एक्सपो–२०७३ को अवसरमा यस्तो प्याकेज ल्याइएको हो ।

कर्णाली एक्सपो यही मंसिर २३ देखि पुस ३ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुँदैछ । जसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । यस पटकको मेलामा हेलिकोप्टरमार्फत् मुगुको रारा, दैलेखका पञ्चकोशी, सल्यानको कुपिण्डे दह र सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको मेला मूल आयोजक समितिका संयोजक एवम् सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । हेलिकोप्टरबाट सुर्खेत–रारा–सुर्खेतको अपडाउन स्वरूप प्रतिव्यक्ति ५० हजार रूपैयाँ निर्धारण गरिएको छ । जसमा एक पटकमा बढीमा ६ जनासम्म जान आउन पाउनेछन् ।

हेलिकोप्टरमार्फत् रारा घुम्न चाहनेले कम्तीमा आधा घण्टादेखि बढीमा ४५ मिनेटको समय पाउनेछन् भने नाइट स्टे गर्न चाहनेले खाना र बस्नको व्यवस्था आफै मिलाउनुपर्नेछ । यस्तै सुर्खेत उपत्यकाका साथै उपत्यका भित्रका पर्यटकीय स्थलहरूको दृश्यावलोकन गर्नका लागि ५ मिनेटसम्मको उडानका लागि प्रतिव्यक्ति चार हजार पाँच सय र १५ मिनेटका लागि प्रतिव्यक्ति ११ हजार रूपैयाँ तोकिएको छ ।

सल्यानको कुपिण्डे दह पुगेर बढीमा ४५ मिनेटसम्म घुमेर फर्किन चाहनेका लागि प्रतिव्यक्ति १५ हजार तथा दैलेखको पञ्चकोशी भ्रमणका लागि १७ हजार रूपैयाँ प्रतिव्यक्ति निर्धारण गरिएको छ । यसैगरी बजाज मोटरसाइकलको अधिकृत बिक्रेता, असिम अटो पार्टस्ले मेला अवधिमा मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई हेलिकोप्टरमा घुमाउने भएको छ । यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने संघका अध्यक्ष अधिकारीले बताए ।

हरेक मेला र महोत्सवमा नयाँ–नयाँ काम गर्दै आएको संघले यस पटक पनि केही नयाँ काम गर्ने भएको छ । यस पटकको मेला स्थलमा चौरीगाई र ऊँट नौलो आकर्षणका रूपमा रहने भएका छन् । मेला हेर्न आउनेमध्ये इच्छा हुनेले मेलास्थलमा स–शुल्क ऊँट र चौरीगाईंको सवारी गर्न पाउने भएका हुन् । विगतका मेलाहरूमा बालबालिका तथा सरसामान हराएको गुनासोलाई मध्यनजर गर्दै यस पटक मेलास्थलमा ४० वटा सीसी क्यामेरा जडान गरिनेछ ।

यस्तै, मेला हेर्न आउनेहरूलाई पर्नसक्ने सम्भावित समस्या समाधान र आवश्यक सहयोगका लागि सामुदायिक सुधार संस्थाको अगुवाई हेल्प डेस्क र जिल्ला जनस्वास्थ्य कार्यालयले आकस्मिक एवम् प्राथमिक उपचारका लागि अलग्गै स्टल सञ्चालन गर्ने भएको छ । यसैगरी आदिवासी जनजातिहरूमध्ये जिल्लामा उपलब्ध आदिवासी जनजातिहरूले आप्mनो पहिचान झल्किने परम्परागत घर निर्माण गरी मौलिक परिकार खुवाउनुलाई मेलाको अर्को महत्वपूर्ण विशेषताका रूपमा लिइएको छ । छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश, पाकिस्तान र थाइल्याण्डका उत्पादनहरूको अलगै अन्तर्राष्ट्रिय स्टल पनि पहिलो पटक स्थापना गरिने भएका छन् ।

सूचना प्रविधिको महत्वलाई मध्यनजर गर्दैे यस पटकको मेलामा क्यान इन्फोटेकका लागि अलग्गै पवेलियन निर्माण गरिएको छ । यस्तै सूचना प्रविधिको विकास र फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गरी मेलास्थलमा निःशुल्क वाइफाइको पनि व्यवस्था हुने भएको छ । यस क्षेत्रमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको महोत्सवको अवसरमा खेलकुदतर्फ प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता र जिल्लास्तरीय कराँते प्रतियोगिता पनि आयोजना हुने भएका छन् । यसैगरी कलासंस्कृतितर्फ जिल्लाभित्रका विद्यालयस्तरीय लोक नृत्य र लोकगायन प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

कर्णाली एक्सपोको अवसर पारेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका व्यापारी र स्थानीय व्यापारीबीच सेमिनार पनि आयोजना गरिने भएको छ । सुर्खेत लगानी वर्ष–२०७३ समेत जारी रहेको सन्दर्भमा यस क्षेत्रमा रहेका लगानीका अवसरहरूको पहिचान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी भित्रयाउने उद्देश्यले सेमिनारको आयोजना गर्न लागिएको हो । यसबाट सुर्खेतलगायत यस क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा एक्सपोजर पाउने हाम्रो अपेक्षा छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका अधिकारीले भने, स्थानीय व्यापारी र राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापारीबीच अनुभव तथा सिकाइ पनि आदान–प्रदान हुनेछ ।

प्रकाशित मितिः   २२ मंसिर २०७३, बुधबार ११:३६