जोखिममा बालबालिका
१८ प्रतिशत कोरोना संक्रमित २० वर्ष मुनीका
कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) को दोस्रो लहर सुरू भएयता बालबालिका पनि ठूलो संख्यामा संक्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना संक्रमण दोस्रो लहरमा बढेको हो ।
कर्णालीमा हालसम्म १८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यो संख्या २० वर्ष मुनिको उमेर समूहको हो । प्रदेशमा अहिलेसम्म कूल ३० हजार आठ सय ६९ जनामा संक्रमण देखिएकोमा ८० प्रतिशत संक्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा. रविन खड्काले कोभिडको पहिलो लहरको तुलनामा दोस्रोमा बढी बालबालिका संक्रमित भएको बताए । उनी भन्छन्, ‘बालबालिकामा संक्रमण दर बढ्दो क्रममा देखिन्छ । दोस्रो लहरमा यो उमेर समूहमा १४ प्रतिशतले संक्रमण बढेको छ ।’
उनकाअनुसार गत वर्ष कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोभिड संक्रमित भएका थिए । त्यो संख्या बढेर अहिले १८ प्रतिशत अर्थात् पाँच हजार पाँच सय ५६ पुगेको हो । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने उनीहरूले बताउँदै आएका छन् । बालबालिकामा बढी संक्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्वतयारी गर्नसमेत विज्ञहरूले सुझाएका छन् ।
थालियो पूर्वतयारी
कर्णालीमा पनि तेस्रो लहरको संक्रमणबाट जोगिन पूर्वतयारी थालिएको सरकारी अधिकारीहरूले बताएका छन् । तर, अहिलेसम्मको अवस्था हेर्दा तयारी भने निकै सुस्त देखिन्छ । निर्देशक डा. खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जनाए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत प्रबन्ध भइसकेको उनको दाबी छ ।
संघीय सरकारले पनि बालबालिकाको लागि आइसीयू र भेन्टीलेटर व्यवस्थापनका लागि प्रदेश अस्पतालमा करिब एक करोड २० लाख बजेट दिएको छ । त्यस्तै, रुकुम–पश्चिम, सल्यान र मुगुमा तीन करोडका दरले बजेट पठाइएको छ । प्रदेशले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई क्रिटिकल कियरको तालिम दिने तयारी गरिरहेको बताइएको छ । समुदायमा आधारित कोभिडको व्यवस्थापन गर्न बालबालिका लक्षित प्रोटकल बनाएर भइरहेको निर्देशक खड्काले जानकारी दिए । ‘यसबाहेक अक्सिजन प्लान्ट निर्माण र सिलिण्डर व्यवस्थापनका कामहरू अघि बढाइएको उनले जनाए ।
यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस संक्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन संक्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तहका अस्पताल र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित पार्न सक्ने संकेत देखिएपछि पूर्वतयारीमा जोड दिइएको स्वास्थ्य संस्थाहरूले बताएका छन् ।
बालबालिकालाई सामान्य रुघाखोकी र ज्वरो आएको अवस्थामा होम–आइसोलेसन तथा समुदायस्तरमै उपचार गर्ने तयारी निर्देशनालयको छ । कडा खालको ज्वरो तथा श्वास–प्रश्वासमा समस्या देखिए जिल्ला तहका अस्पतालमा र जटिल खालको संक्रमणको लक्षण भएकालाई प्रदेश अस्पतालमा उपचारको व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ ।
विशेषज्ञ र पूर्वाधारको अभाव
सुर्खेत र जुुम्लाबाहेक अन्य जिल्लामा विशेषज्ञ डाक्टरको अभाव छ । त्यसमा पनि बाल रोग विशेषज्ञ न्यून संख्यामा छन् । प्रदेश अस्पतालमा मात्रै चार जना बाल रोग विशेषज्ञ कार्यरत छन् । बालबालिकाको उपचारमा आवश्यक पूर्वाधार र उपकरणको सबै जिल्लामा सुविधा छैन । अन्य जिल्लामा जटिल खालका बिरामीहरूका लागि आवश्यक पर्ने पीआइसीयू र एनआइसीयूू बेडको समेत व्यवस्थापन राम्रो छैन । जिल्लामा विशेषज्ञ डाक्टरहरू नै नभएको अवस्थामा जनशक्ति र उपकरणहरूको व्यवस्थापन गरेर उपचार गर्न चुनौती छ ।
दैलेखमा जम्मा ५० बेडको आइसोलेसन, पाँच आइसीयू र दुई वटा भेन्टीलेटर छन् । जटिल खालका बिरामीहरूलाई प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गर्नुपर्छ । बालबालिकामा जटिल खालको संक्रमण देखिए सोही अनुरूप उपचार गर्न भेन्टीलेटर कति छन् भन्ने यकिन तथ्याङ्क संकलन भइरहेको निर्देशक खड्काले बताए । निर्देशनालयका अनुसार प्रदेशभर बालबालिकाको उपचारका लागि १९ वटा आइसीयू बेड छन् । प्रदेश अस्पतालमा बालबालिकाका लागि पीआइसीयू आठ वटा छन् ।
कर्णाली प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसी बालबालिकामा संक्रमण दर अझै बढ्न सक्ने बताउँछन् । संक्रमित बिरामीको संख्या बढ्दै गए हाल उपलब्ध स्रोत–साधनले मात्र उपचारमा कठिनाइ हुने उनले बताए । ‘तेस्रो लहरमा बालबालिकामा बढी जोखिम हुने भनिए पनि त्यसको ठ्याक्कै वैज्ञानिक आधार भने छैन,’ उनले भने, ‘सचेत हुने र पूर्वतयारी गर्नु आवश्यक छ तर त्रसित नै भइहाल्नुपर्ने छैन ।’ उनले पहिलो र दोस्रो लहरको अनुभवले पनि अब आउन सक्ने लहरको व्यवस्थापनमा सहज हुने बताए ।
कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट तीन सय ५६ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय संक्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको संख्या धेरै नभएपनि संक्रमण दर भने बढ्दो छ । निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा २१ देखि ३० वर्ष उमेर समूहका ३६, ३१ देखि ४० वर्ष उमेर समूहका २५, ४१ देखि ५० उमेर समूहका १२ प्रतिशतमा अहिलेसम्म संक्रमण देखिएको छ । यस्तै, ५१ देखि ६० वर्षका ६ प्रतिशत, ६१ देखि माथि उमेर समूहका तीन प्रतिशत संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २५ श्रावण २०७८, सोमबार ०५:००
साझा बिसौनी ।