मास्क नलगाउनेलाई जरिवाना

मास्क प्रयोग नगर्नेलाई जरिवाना गरिएको छ । कोरोनोको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले अटेर गर्दा सय रूपैयाँ जरिवाना लगाइएको छ । आइतवार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रूपैयाँ जरिवाना गराइएको हो ।
करिब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरूले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गरेका थिए । यति गर्दा पनि सर्वसाधारणहरू मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।

सर्वसाधारणले मास्क लगाउन जति आग्रह गरेपनि नमानेका कारण जरिवाना लागू गरिएको उनको भनाइ छ । उनका अनुसार जरिवाना काट्दै मास्क दिँदै गरिएको छ । आइतवार साँझसम्म ५० जनालाई जरिवाना गराइएको सहायक प्रजिअ महतले बताए । मास्क लगाउन अटेर गर्नेलाई अब जरिवाना निरन्तर गरिने उनको भनाइ छ । स्वास्थ्यकर्मीहरूले पनि मास्क लगाउँदा कोरोनाको भाइरस सर्ने क्रममा कमी आउने बताएका छन् ।

प्रकाशित मितिः   २५ श्रावण २०७८, सोमबार ०५:०५