अफवाह फैलाउनेलाई कारबाहीको माग
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यु भएको भनि सामाजिक सञ्जालमा कुप्रचार गर्नेलाई मुद्दा दायर गरिने भएको छ । विश्वविद्यालयको लेटरप्याड र छाप तथा पदाधिकारी र कर्मचारीका हस्ताक्षर दुरूपयोग गर्ने त्यस्ता व्यक्ति तथा समूहलाई साइबर क्राइम अन्तर्गत मुद्दा दायर गर्ने तयारी भएको विश्वविद्यालयले जनाएको हो ।
आइतवार विश्वविद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त अपराधमा संलग्नलाई कारबाहीको माग गर्दै मुद्दा दायरको प्रक्रिया अघि बढाइसकिएको उपकुलपति सिंहले बताए । उनले आफू जिउँदै भएको जानकारी गराउन पत्रकार सम्मेलन गर्नुपरेको भन्दै यस्तो अमानवीय र आपराधिक कार्य गर्नेलाई हदैसम्मको कारबाहीको माग गरिएको जनाए । ‘यस्ता आपराधिक क्रियाकलाप गर्नेलाई जति नै निन्दा गरेपनि कमै हुन्छ,’ उनी भन्छन्, ‘मलाई र विश्वविद्यालयलाई बदनाम गराउन श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् ।’ झुठो हल्ला फैलाउने र अमानवीय गतिविधि गर्नेलाई कानुनी दायरा ल्याइने उनले बताए । उपकुलपति सिंहले आफूले विश्वविद्यालय सुधारका लागि गरेको काम कतिपयलाई मन परेको समेत सुनाए । ‘विश्वविद्यालयको लेटरप्याडको दुरूपयोग गर्दै मेरो मृत्युको दुष्प्रचारसमेत गरियो,’ उनले भने, ‘आपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भत्र्सना गर्दछ ।’ संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याइ कडा सजाय दिन सम्बन्धित निकायसमक्ष उनले मागसमेत गरेका छन् ।
गएको शनिवार फेसबुकलगायतका सामाजिक सञ्जालमा उनको मृत्यु भएको भन्दै विश्वविद्यालयको लेटरप्याड किर्ते गरी झुठा प्रचार गरिएको थियो । अज्ञात समूहले ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यतिबेला सर्वत्र निन्दा र भत्र्सना गरिएका टिप्पणी आइरहेका छन् । यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन हुनुका साथै आफ्नो चरित्र हत्या भएको उपकुलपति सिंहको भनाइ छ । विश्वविद्यालय विरोधी गतिविधि गर्ने छुट कसैलाई नदिन उनले सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।
यसैबीच, विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनहरूले १८ बुँदे माग राखेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । उक्त आन्दोलनमा प्राध्यापकहरूको पनि समर्थन छ । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच वार्ताबाट समाधान खोज्ने प्रयास भए पनि सफल हुन सकेको छैन ।
प्रकाशित मितिः २५ श्रावण २०७८, सोमबार ०५:०३
साझा बिसौनी ।