सञ्चारमैत्री कानुन बनाउने प्रतिबद्धता
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् । उनले विषय विज्ञ, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बद्ध पक्षहरूसँग छलफल गरेर सञ्चारमैत्री कानुन ल्याइने बताएकी हुन् ।
मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्रि मिडिया नेटवक सुर्खेत, पत्रकार महासंघ र इन्टेरनेशनल अलर्टको संयुक्त आयोजनामा आइतवार सुर्खेतमा भएको कार्यक्रममा मन्त्री नेपालीले सञ्चारसँग सम्बन्धित कानुनहरू ल्याउँदा सञ्चारमैत्री बनाइने प्रतिबद्धता जनाइन् । उनले अहिले प्रदेश सरकार सञ्चारसँग सम्बन्धित ऐन कानुनहरू बनाउन लागेको जानकारी दिँदै पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षा गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।
प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसञ्चार प्रतिष्ठान विधेयक संसद्मा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको जानकारी उनले दिइन् । यसका साथै जनतालाई सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरूलाई उनले सुझाव दिइन् ।
कार्यक्रममा मानअधिकार सञ्चार प्रतिष्ठानका निराजन नेपालीले पत्रकारहरूको भौतिक तथा पेसागत सुरक्षामा आइपर्ने सवालहरूलाई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्षहरू श्रीधर पौड्याल, कमलेश डीसी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछाने, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, गैसस महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी, नागरिक समाजका खिम रेग्मी, महिला संजालका हरिमाया शर्मालगायतले पत्रकारहरूको भौतिक तथा पेसागत मर्यादाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले कोभिडले जिल्लाको पत्रकारिता तथा पत्रकारहरूलाई पारेका प्रभाव, समस्याका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मितिः २५ श्रावण २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।