खतराको घण्टी

कोरोना भाइरस (कोभिड–१९)को महामारीको दोस्रो लहर कायम छ । दैनिक नयाँ संक्रमितहरू थपिदै छन् । घट्दै गएको संक्रमणदर फेरि उकालो लागेको छ । विज्ञहरूले तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराइसकेका छन् । त्यसैले यतिबेला थप सतर्कता अपनाउनुपर्ने भएको छ । सचेत र सजग हुनुपर्ने भएको छ । हालसम्म कोरोनाले ठूलो क्षति पु¥याइसकेको छ । पहिलो चरणको कोरोना कहरबाट बाहिर निस्कदै गर्दा दोस्रो लहर सुरु भयो । दोस्रो लहरबाट उम्किन नपाउँदै तेस्रो लहर आउनसक्ने खतराको घण्टी बजिसकेको छ । यो नै आजको चुनौती हो ।

पछिल्ला दिनमा बढ्दो लापरवाहीका कारण पनि जोखिम बढेको हो । दोस्रो लहर सुरू भएयता बालबालिका पनि ठूलो संख्यामा संक्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना संक्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म १८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यो संख्या २० वर्ष मुनिको उमेर समूहको हो । प्रदेशमा अहिलेसम्म कूल ३० हजार आठ सय ६९ जनामा संक्रमण देखिएकोमा ८० प्रतिशत संक्रमित भने २० वर्षमाथिका छन् । गत वर्ष कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोभिड संक्रमित भएका थिए । त्यो संख्या बढेर अहिले १८ प्रतिशत अर्थात् पाँच हजार पाँच सय ५६ पुगेको हो । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने उनीहरूले बताउँदै आएका छन् । बालबालिकामा बढी संक्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्वतयारी गर्नसमेत विज्ञहरूले सुझाएका छन् । यसकारण हामीले सुरक्षा मापदण्डको पालनामा हेलचक्य्राइँ फिटिक्कै गर्नु हुँदैन ।

कर्णालीमा पनि तेस्रो लहरको संक्रमणबाट जोगिन पूर्वतयारी थालिएको सरकारी अधिकारीहरूले बताएका छन् । तर, अहिलेसम्मको अवस्था हेर्दा तयारी भने निकै सुस्त देखिन्छ । पर्याप्त पूर्वाधार र जनशक्तिको अभाव छ । सुर्खेत र जुुम्लाबाहेक अन्य जिल्लामा विशेषज्ञ डाक्टरको अभाव छ । त्यसमा पनि बालरोग विशेषज्ञ न्यून संख्यामा छन् । जटिल खालका बिरामीहरूका लागि आवश्यक पर्ने पीआईसीयू र एनआईसीयूू बेडको समेत व्यवस्थापन राम्रो छैन । जिल्लामा विशेषज्ञ डाक्टरहरू नै नभएको अवस्थामा जनशक्ति र उपकरणहरूको व्यवस्थापन गरेर उपचार गर्न चुनौती छ । यसतर्फ समयमै ध्यान जान जरुरी छ ।

जोखिमबाट बच्न सावधानी अपनाउनु अपरिहार्य छ । भिडभाड नगर्नेतर्फ सबै सचेत हुनु जरुरी छ । अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, साबुनपानीले नियमित हात धुने, भिडभाडमा नजाने जस्ता सावधानीले नै संक्रमण बढ्न र फैलिनबाट रोक्न सक्दछ । साथसाथै कसैलाई लक्षण देखिनासाथ परीक्षण गर्नु अनिवार्य छ । धेरैभन्दा धेरै परीक्षण गर्न सकेमा पनि सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्छ । सरकारी तहबाट अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २६ श्रावण २०७८, मंगलवार ०५:००