निषेधाज्ञाको अवज्ञा

सुर्खेतमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको हो । गत वैशाख १५ गतेदेखि जारी गरेको निषेधाज्ञा पटक–पटक थप गर्दै आएको छ । पछिल्लो पटकको निर्णय अनुसार साउन २२ गतेसम्म निषेधाज्ञा कायम छ । कोरोना संक्रमण नियन्त्रण नभएका कारण पुनः यसको अवधि थप हुन सक्नेछ । तर प्रशासनले निरन्तर निषेधाज्ञा गरे पनि यो नाम मात्रको छ । पछिल्लो समय निषेधाज्ञा हुनु र नहुनुमा कुनै फरक छैन ।

सार्वजनिक स्थानमा हुने भिडमा जोखिम बढी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा कायमै रहेको बताए पनि सार्वजनिक स्थानमा भने त्यसको कुनै छनक देखिँदैन । मानिसहरूका गतिविधि सामान्य अवस्थामा झै छन् । स्थानीय प्रशासनले केही क्षेत्र खुलाएर निषेधाज्ञा खुकुलो बनाएको जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी आदेशमा कतिपय व्यवसाय र गतिविधि गर्न पूर्णरूपमा रोक लगाइएको छ । तर, प्रशासनले सञ्चालन नगर्न भनेका व्यवसाय र भिडभाडजन्य गतिविधि निर्वाध रूपमा चलिरहेका छन् । निषेधाज्ञा जारी गर्ने तर त्यसको कार्यान्वयन तथा नियमनमा बेवास्ता गर्दा सुर्खेतमा पनि निषेधाज्ञा छ र ? भन्ने अवस्था देखिएको हो । प्रशासनले जारी गरेको आदेशमा सबै प्रकारका सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार, पार्टी, खेलकुद, रंगशाला, पार्लर, सैलुन लगायतका व्यवसायमा रोक लगाइएको छ तर, यी सबै व्यवसाय र क्रियाकलाप सञ्चालन भइरहेकै छन् । प्रशासन र प्रहरी भने मुकदर्शक बनेको छ । त्यस्तै, प्रशासनले खुल्ला स्थानमा मानिसहरू भेला भएर भिडभाड हुने क्रियाकलाप गर्न नपाउने भनेको छ । फूटपाथ तथा खुला स्थानमा व्यापार गर्न, विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सीमित व्यक्तिको उपस्थितिमा गर्नुपर्ने प्रशासनको आदेश छ । तर यस्ता खालका क्रियाकलापहरू आदेशविपरीत धमाधम चलिरहेका छन् ।

निषेधाज्ञाका केही नियम हुन्छन् । उक्त अवधिमा के गर्न हुने र के गर्न नहुने भनेर प्रशासनले नियम बनाएको हुन्छ । त्यसलाई पालना गर्नु सम्बन्धित सबैको दायित्व हुन आउँछ । साथै पालना गराउन प्रशासनको कर्तव्य । कोरोना महामारीलाई केन्द्रित गरेर जारी गरिएको निषेधाज्ञाको मूल उद्देश्य भीडभाड नियन्त्रण गर्नु हो । भीडका कारण संक्रमण बढ्ने जोखिम बढी हुन्छ । कोरोना भाइरस विशेषगरी हावाका माध्यमबाट सर्ने हुनाले पनि भौतिक दूरी कायम गर्नुपर्ने सुझाव विज्ञहरूले दिने गरेका छन् । तर सतर्कताका मापदण्डहरू पालनामा हेलचक्य्राइँ देखिन्छ । लापरबाही उस्तै छ । मास्क नलगाउनेहरूको संख्या बढ्दो छ । भौतिक दूरी कायम गर्नेतर्फ कसैको ध्यान छैन । सार्वजनिक सवारी साधनहरू सञ्चालन भइरहेका छन् । तर प्रशासन भने नियम पालनामा ध्यान नदिएर निषेधाज्ञाको निर्णय गर्नमै केन्द्रित छ । नियम पालना गर्नै नपर्ने यो कस्तो निषेधाज्ञा ? जोखिम नियन्त्रणका लागि निषेधाज्ञा गरिएको भए त्यसको पालनामा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।