प्रधानमन्त्री सुर्खेत आउने

प्रधानमन्त्ररी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने भएका छन् । सुर्खेतमा हुने महोत्सव उद्घाटनका लागि उनी सुर्खेत आउन लागेका हुन् ।

सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर २३ देखि पुस ३ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली एक्सपो २०७३ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

छैठौं प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका विकास निर्माणसंग सम्बन्धित मागहरुमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने भएकाले पनि मुलुकको कार्यकारी प्रमुखलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको हो ।

प्रधानमन्त्रीलगायत सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, सुर्खेतबाट प्रतिनिधित्व गर्ने पाँचै जना सांसदहरुलाई समेत उद्घाटन समारोहका लागि निमन्त्रणा गरिएको मूल आयोजक समितिले जनाएको छ । यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघका उच्च अधिकारीहरुको पनि सहभागिता रहने मूल आयोजक समितिका संयोजक प्रकाश अधिकारीले बताए ।

प्रकाशित मितिः   २१ मंसिर २०७३, मंगलवार १८:२३